वाणिज्य बैंकका सिइओहरु उपर सम्पत्ति शुद्धिकरण विभागको कर्के नजर
Monday Jan 06, 2020
वि.सं.२०७६ पुस २१ सोमवार ०८:२५
सम्पत्ति शुद्धिकरण विभागको आँखा बैंकका प्रमुख कार्यकारी अधिकृत माथि परेको छ । एक दर्जन बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले अकुत सम्पत्ति आर्जन गरेको उजुरी सम्पत्ति शुद्धिकरण विभागमा पुगेसँगै बैंकले ती सिइओहरुविरुद्ध निगरानी बढाएको छ । अकुत आर्जनमा डामिएका ती सिइओका व्यक्तिगत विवरण,तलव,भत्ता लगायतका विस्तृत विवरण माग गरेर सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ती सिइओहरुमाथि सुक्ष्म अनुसन्धान गरिरहेको छ । उजुरी परेका एक दर्जन सिइओहरुलाई विभागले पत्राचार गर्दै सीइओको तलबभत्ता र सेवा सुविधाको सम्पूर्ण विवरण माग गरेको थियो । विभागले माग गरे अनुसार बैंकहरुले सीइओको तलबभत्ता र सेवा सुविधाको विवरण विभागसमक्ष पठाइसकेका छन्, । जुन विवरण सुक्ष्म रुपमा केलाउँदा २ जनाको सम्पत्ति अस्वाभाविक लागेपछि विभागले थप अनुसन्धान थालेको छ ।
प्रारम्भिक चरणमा विभागले दुईवटा वाणिज्य बैंकका सीइओको सम्पत्ति छानबिन प्रक्रिया समेत अघि बढाएको विभाग स्रोतले जनाएको छ । दुईवटा सीइओले अस्वभाविकरुपमा सम्पत्ति कमाई कालो धनलाई सेतो बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएसँगै विभागले नियामक निकाय नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । ललिता निवासको ४ आना जग्गा धितोमा बैंकले ८६ करोड ऋण प्रवाह गरेको भेटिएपछि सम्पत्ति शुद्धिकरणको विभागको आँखा बैंकका सिइओहरु उपर परेको हो ।






















