आज तेस्रो नेपाल आइडलकाे आठ बजेदेखि प्रसारण हुँदै
Friday Aug 28, 2020
वि.सं.२०७७ भदौ १२ शुक्रवार २०:००

काठमाडौं । आज तेस्रो नेपाल आइडल प्राप्त गर्दैछ। शुक्रबार स्टुडियोमा आयोजना हुने गायन रियालिलिटी सो ‘नेपाल आइडल(३’ को ग्रान्ड फिनालेमा यसको विजेता घोषणा गरिने छ। विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो। एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो।
हजारौंबाट छानिएर उत्कृष्ट ३ मा पर्न सफल भएका उनीहरूले पाएको भोटको आधारमा विजेता चयन हुनेछ। विजेताले ‘नेपाल आइडल(३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन्।
अन्य हप्ताको कार्यक्रम जस्तै शुक्रबारको कार्यक्रममा सीमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल(३ को विजेता घोषणा गरिने प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए। पौडेलका अनुसार कोभिड(१९ का कारण ग्रान्ड फिनाले सामान्य तवरमै सञ्चालन गर्न लागिएको हो।
लकडाउन भएको थिएन भने गत चैतमै कार्यक्रम सम्पन्न भइसक्थ्यो। कोरोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो। कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्।
नेपाल आइडल यस्तो एउटा मञ्च हो जसले हर कोहीलाई अवसर दिन्छ। यसले दूरदराजमा लुकेर रहेका प्रतिभालाई अगाडि बढ्न समान अवसर दिन्छ। नेपाली सांगीतिक इतिहासमा बेग्लै उचाइ कायम गरेको नेपाल आइडल हरेकको सपना हो। यसअघि बुद्ध लामा र रवि ओडले यो उपाधि चुमिसकेका छन्।


























