अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधी , नयाँ अर्थमन्त्री ?
Friday Sep 04, 2020
वि.सं.२०७७ भदौ १९ शुक्रवार १०:५५

काठमाडौं । वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधी सकिदैछ । भोलि शुक्रबारदेखि आइतबारसम्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ अर्थमन्त्रीलाई भित्राउनेछन् । छलफलका कोण र तयारी हेर्दा अर्थमन्त्री नफेरिने सम्भावना बन्दै गएको देखिएको छ ।
डा। खतिवडाको बहिर्गमनको हल्लासँगै शेयर बजारमा उछाल आइसकेको छ । तर, नेकपाको सचिवालयको बैठकले नयाँ अर्थमन्त्री कसलाई बनाउने भन्नेमा निर्णय गर्न सकेको छैन । प्रधानमन्त्री ओलीको रणनीति हेर्दा सकेसम्म खतिवडालाई नै जोगाउने देखिन्छ ।
अबको अर्थमन्त्रीले आगामी निर्वाचनसम्ममा मन्त्रालय सम्हाल्ने भएकोले उक्त पदको लागि नेकपाका सचिवालय सदस्य विष्णु पौडेल, उपाध्यक्ष बामदेव गौतम तथा अर्का नेता सुरेन्द्र पाण्डेले दावी गरिरहेका छन् । यही बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने वर्तमान अर्थमन्त्री डा। खतिवडालाई नै राष्ट्रिय सभामा मनोनित गरेर निरन्तरता दिनुपर्ने अडान राखेका छन् । प्रम ओलीको रणनीति सकेसम्म वर्तमान अर्थमन्त्री खतिवडालाई नै बचाउने र नसकेमा अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेललाई दिएर डा। खतिवडालाई आर्थिक सल्लाहकारको रुपमा सत्ताकै राखिराख्ने योजनामा प्रधानमन्त्री ओली छन् । घुसकाण्ड, कमिशन वा दायाबायाँ काण्डमा नपरीकन प्रधानमन्त्री ओलीका असली सारथीको भूमिका निर्वाह गरिरहेका खतिवडालाई ओलीले निकै मन पराएको देखिएको छ । ओलीको योजना सफल भएमा डा। खतिवडा अर्थमन्त्रालयबाट हटे पनि उनी पुनः प्रम आर्थिक सल्लाहकारको रुपमा सक्रिय हुने बालुवाटार स्रोतले जनाएको छ ।
अर्थमन्त्रीका लागि प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र अर्का बरिष्ठ नेता माधव कुमार नेपालबीचमा सहमति हुन नसक्दा आजको बैठक नै अन्योलमा परेको छ । सहमति नहुने अवस्थामा प्रम ओलीले बैठक नै सार्ने सम्भावना बलियो रहेको जनाइएको छ ।
प्रचण्ड निकट स्रोतले आज बस्ने नेकपाको बैठकले राष्ट्रिय सभाको सदस्यको लागि बामदेव गौतमलाई सिफारिस गर्ने सहमति भएको दावी गरेको छ ।
























