सिप्रदी र राष्ट्रिय वाणिज्य बैंक बीच सहुलियतपूर्ण कर्जाबारे सम्झौता
Tuesday Dec 29, 2020
वि.सं.२०७७ पुस १४ मंगलवार २२:२२

काठमाडौं । टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सम्झौता भएको छ । अब टाटा मोटर्सको कमर्शियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले राष्ट्रिय वाणिज्य बैंकको देशैभरि जुनसुकै शाखा मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरिएको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यबिधि, २०७५ को अधिनमा रही बैंकको नीति अनुसार ग्राहकहरुलाई व्यवसायिक तथा निजी प्रयोजनका सवारी साधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराईने बैंकले छ ।
तोकिएको सहुलियतपूर्ण कर्जाभित्र व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा रहेका छन् । टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे । सरल र सहज कर्जा उपलब्ध गराउने उद्देश्यका साथ यो सुविधा सिप्रदीका देशभरी रहेका सम्पुर्ण डिलरहरुबाट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
























