कुमारी बैंकमा कार्यकारी अधिकृतको जिम्मा राचन्द्र खनालले पाए
Monday Feb 07, 2022
वि.सं.२०७८ माघ २४ सोमवार १९:५०
कुमारी बैंकमा कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा राचन्द्र खनालले पाएका छन् । कुमारी बैंकमा प्रमुख सञ्चालन अधिकृतको जिम्मामा रहेका खनाललाई कामू सीइओको जिम्मेवारी दिएको हो ।
आज सोमबार बसेको सञ्चालक समितिले अनुजमणि तिमिल्सिना र मनिश तिमिल्सिनाले दिएको राजीनामा स्वीकृत गर्दै खनाललाई कामू सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो । बैंकमा कामू प्रमुख कार्यकारी अधिकृत रहेका अनुजमणि तिमिल्सिना र डेपुटी सीइओ महेश तिमिल्सिना स्वेच्छिक अवकास लिएर बाहिरिएका हुन् ।
गायक योगेश्वर अमात्यको जग्गा नक्कली धितो राखेर कुमारी बैंकले ऋण दिएपछि कामू सीइओ तिमिल्सना र डेपुटी सीइओ महेशको भूमिकामा प्रश्न उठेको थियो । बैंकले धितो नक्कली भएको थाह पाएपनि प्रहरीलाई खबर गरेको थिएन । पछि अमात्यको उजुरीको आधारमा मात्र कुमारी बैंकले गायक अमात्यको नक्क्ली धितो राखेर ऋण दिएको खुलेको थियो ।
कुमारी बैंकको सञ्चालक समितिले अर्को व्यवस्था नहुँदासम्म खनाललाई कामू सीइओको जिम्मेवारी दिएको हो । सुरेन्द्र भण्डारीको कार्यकाल असार मसान्तमा सकिएपछि अनुजमणिलाई कामू सीइओको जिम्मेवारी दिएको थियो ।
कुमारी बैंक स्रोतका अनुसार अनुज र महेश १२ महिनाको तलब लिएर बाहिरिएका हुन् । यसबाहेक उनीहरुले सुविधामा पाएको गाडी समेत बैंकले जागिर छाड्दा दिएको कुमारी बैंक स्रोतले जानकारी दियो ।























