दलित भनेर कसैले घर भाडामा दिदैनन् , यस्तो चिसोमा कहाँ गएर बसौ ?
Tuesday Nov 20, 2018
वि.सं.२०७५ मंसिर ४ मंगलवार ०९:३९

निरंजन साह,जनकपुरधाम । दलित भनेर कसैले भाडामा घर पनि दिदैन । यस्तो चिसोमा कहाँ गएर बसौ ।’ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का मेस्तर समुदायहरु अहिले यस्तै समस्यामा गुज्रिएका छन् । उनीहरु भन्छन, ‘हाम्रो घर टहराहरु भत्काइएको छ ।
दलितहरुलाई आरक्षण, सम्पन्न र समृद्ध बनाउने, विकास गर्ने नेताहरु भाषण दिदैछन तर दलित मेस्तर समुदायमाथि यस्तो आफतमा कसैले घुरेर पनि आएको छैन, रुदै अनिता मेस्तरनीले भने ।
जनकपुरधाम उपमहा नगरपालिका वडा नम्बर १ स्थित रेल्वेको जग्गामा करीब ३० वर्षदेखि बस्दै आएका मेस्तर समुदायले यस्तो गुनासो पोखेका छन् । रेल्वे विस्तारको क्रममा मेस्तर समुदायका १० वटा घर भत्काइएको छ । उनीहरुसँग एकधुर जग्गा पनि छैन । खुल्ला आकाशमा जिउँन बाध्य भएका छन् ।
‘चिसोको मौसम छ । स साना बालबच्चाहरु छन् । बस्नका लागि घर पनि छैन, विभिन्न ठाउँमा गुहारेपनि कसैले सुनेको छैन’ भरोसी मेस्तरले भने । उनले दलितको हितमा हामी छौ, सबैले भन्दैछन, तर दलितमाथि समस्या आएमा कसैले अगाडि आउँदैन गुनासो पोखे का छन ।

जनकपुरधाम उपमहा नगरपालिका वडा नम्बर ३ बस्ने र सोही वडामा सदस्य तथा उपमहानगरपालिकाका कार्यपालिका सदस्य सुनिता राउत (मेस्तरनी)ले भने ‘दलितको नाउँमा भजाएर खाने धेरै छन् । दलितको उत्थान गर्ने कोही छैन । सबैले भन्छन् दलितलाई आरक्षण हुनुपर्छ, उनीसँग सम्मान व्यवहार गर्नुपर्छ । तर अहिले घरबाट बेघर हुँदा कोही पनि छैन । ’
उनले भत्काइएको मेस्तर समुदायको १० वटा घरलाई व्यवस्थान नगरेमा आन्दोलन गर्ने चेतावनी पनि दिएकी छन् । जसलाई जग्गा छैन, सम्पति छैन उनीहरुलाई यो देशमा बस्ने अधिकार छ, कि छैन प्रश्न पनि गरेकी छिन ।
उनले आफू विकास विरोधी होइन, तर भत्काइएको घर अर्को ठाउँमा निर्माण गरी व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माँग गरेको बताएकी छन् । पाँच दिनभित्रमा मेस्तर समुदायको घरको व्यवस्थापन सम्बन्धित निकायले नगरेमा बाध्य भएर अर्को कदम चाल्ने दावी समेत गरेकी छन् ।
त्यस्तै नेपाली जनता दलका धनुषा अध्यक्ष मुन्जय राउतले सबभन्दा पिछडिएका समुदायमध्ये मेस्तर समुदाय हो । तर उनीहरुको निमर्मता पूर्वक घर भत्काईएको छ त्यसको व्यवस्थापनको माँग गरेका छन् ।
गुठीको धेरै सम्पतिहरु छन। ती ठाउँमा पनि घर निर्माण गरी तत्काल राहतका लागि सम्बन्धित निकायसँग उनले आग्रह गरेका छन ।























