यस्तो सरकार धेरै दिन टिक्नु हुँदैन : धिताल
Tuesday Nov 20, 2018
वि.सं.२०७५ मंसिर ४ मंगलवार ११:२९

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता विष्णुप्रसाद धितालले कम्युनिष्टको यो सरकार धेरै दिन टिक्न नहुने बताएका छन् । नौ महिनामा जनताका पक्षमा कुनै काम नभएको भन्दै उनले यही पाराले सरकार जाने हो भने जतिदिन सरकार आयु लम्बियो त्यति नै देश संकटमा पर्ने बताएका छन् ।
आलोचना साप्ताहिकसँग कुरा गर्दै उनले यो बेलामा प्रमुख प्रतिपक्षी भुमिकामा रहेको नेपाली काँग्रेसको भूमिका थप सशक्त बन्नुपर्ने बताए । काँग्रेसले सरकारका कामको खबरदारी गर्नुपर्ने र गलत बाटोमा जाँदा थप दुर्घटना हुन नदिन सचेत गराउनुपर्ने दायित्व रहेको बताए । लमजुङबाट राजनीति शुरु गरेका उनले सरकार आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक र अन्य क्षेत्रमा समेत सफल भएको दावी गरेका छन् ।
नेपाली काँग्रेसले पार्टीमा देखिएको अन्तरद्वन्दलाई व्यवस्थापन गरेर यो बेलामा गाउँघरमा गएर जनताको मन जित्ने अनेकखाले कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको सुझाव छ । संघीय संरचना अनुसार पार्टीको विधान बनाउनु पर्ने भएको हुँदा पनि आगामी महासमितिको बैठकले त्यसलाई विशेष चासोका साथ अघि बढाउनु पर्ने उनको भनाई छ । पे्रेस स्वतन्त्रता, विधिको शासन र लोकतन्त्रलाई बलियो बनाउने काममा सरकार चुकेको भन्दै जनताका नाममा दिएका आश्वासनहरु पूरा गर्न सरकारलाई सुझाव दिएका छन् ।
सरकारले सबै काम गर्छु भन्ने र खोक्रो आश्वासन मात्र दिएको भन्दै उनले भनेर विज्ञापन गर्नुभन्दा काम गरेर जनताको मन जित्न सरकारलाई आग्रह गरेका छन् । बैंकिङ घोटाला काण्डमा पक्राउ परेका उनले आफूमाथि निराधार आरोप लगाएको र त्यस्तो खाले गतिविधिमा संलग्न नभएको बताएका छन् । ‘केही सीमित व्यक्तिले मेरो नाम जोडेर मेरो र पार्टीको समेत बदनाम गर्न खोजेका हुन्’ उनले भने– म काँग्रेस भएकोले यही कुरा जोड्दै गभर्नर चिरञ्जीवी नेपाललाई हटाउने खेलसम्म गर्ने योनजा अनुसार यी काम भएका थिए’ पदको दुरुपयोग वा त्यस्तो नियमविपरित काम गरेको भए नियमअनुसार सजायँ भोग्न तयार भएको उनले स्पष्ट पारेका छन् ।





















