कांग्रेसजनमा किन पैदा हुँदैछ नैराश्यता ? नेतृत्वले बेलैमा नसोचे घट्न सक्छ यस्तो खतरनाक घटना
Wednesday Nov 21, 2018
वि.सं.२०७५ मंसिर ५ बुधवार ०२:३६

काठमाडौं । दुईतिहाइ बहुमतको वर्तमान सरकारले अपेक्षित काम गर्न नसकिरहेका बेला संसदको वाचडग मानिने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि कताकता हराइरहेको आभास भइरहेको छ ।
गठन भएको नौ महिनासम्म सरकारले भने अनुसारको काम गर्न सकेको छैन । यता कांग्रेसको भूमिका पनि सरकारको आलोचना गर्ने तहसम्म मात्र सीमित देखिन्छ ।
संसदीय लोकतन्त्रमा सरकारको असफलता प्रमुख प्रतिपक्षका लागि स्वर्ण अवसर हो । आम जनताले सरकारको आलोचना गरिरहेको यो घडीमा कांग्रेसले आफूलाई अर्को चुनावमा विकल्पको रूपमा प्रस्तुत गर्ने जमर्को गरेजस्तो देखिएको छैन । कांग्रेस नेताले पार्टीलाई सुधार्छौं भनेर गफ दिइरहे पनि यथार्थ भने कांग्रेसभित्र रहेको गुटबन्दी अझ झाँगिदै गइरहेको छ । भने यसले आम कांग्रेसी कार्यकर्तामा नैराश्यता पैदा भईरहेको छ ।
२०७४ सालको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा हार बेहोरेको नेपाली कांग्रेस भित्र अझै पनि त्यो हारको जिम्मा कसले लिने भन्ने बहसमा मात्र अल्झेको देखिन्छ । यसको चुरो कुरा पत्ता लगाउन कसैले चासो दिएको देखिदैन ।
कांग्रेसभित्र अहिले देखिएको चरम गुटबन्दीको कारक तत्व त्यही हार हो भन्ने गरिएता पनि लोकप्रिय मतलाई हेर्ने हो भने कांग्रेसलाई जनताले दुत्कारेको अवस्था चाहिँ छैन । आन्तरिक किचलो समाधान गर्ने हो भने चुनावी अंकगणितले नेपाली कांग्रेसलाई जनताको राम्रो समर्थन र सहयोग रहेको देखाएको छ ।
केही समयअघि नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको आगामी महाधिवेशनबाट कांग्रेसको नेतृत्व पुनः कोइराला परिवारमै फर्किने संकेत गरेका थिए । आफू वा डा. शेखर कोइरालामध्ये एक जना आगामी महधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने निश्चित भएपनि दुईभाइमध्ये को अगाडि बढ्ने भन्ने टुङ्गो लाग्न मात्रै बाँकी रहेको बताएका थिए ।
उनको भनाइलाई पुष्टि गर्दै गत मंसिर २ गते विराटनगरमा बीपीपुत्र शशांक कोइराला, नोनापुत्र डाक्टर शेखर कोइराला र गिरिजापुत्री सुजाता कोइरालाले एउटै मञ्चमा एकताको प्रतिकस्वरूप एउटै माला लगाएर कांग्रेसको आगामी नेतृत्व लिनका लागि कोइराला परिवार एक भएको सन्देश दिन खोजेका थिए ।
त्यसलगत्तै विराटनगर पुगेका पार्टी सभापति शेरबहादुर देउवाले शेखर कोइरालासँग आधाघण्टा गोप्य कुराकानी गरेको हल्ला बाहिरिएको थियो । धेरै लामो संघर्षपछि कोइराला परिवारबाट पार्टीको नेतृत्व खोसेका देउवाले आगामी नेतृत्वको दाबी गरिरहेको कोइराला परिवारका एक सदस्यसँग गरेको गोप्य वार्तालाई अर्थपूर्ण रूपमा हेर्न सकिन्छ ।
कांग्रेस नेता तथा पूर्वमन्त्री समेत रहेका प्रकाशशरण महतले पनि संघीय संरचना अनुसार आफ्नो पार्टीको विधान परिवर्तन हुने बताएका थिए । विधानलाई संशोधन गर्दै थप समावेशी संरचना बनाउने छलफल भइरहेको र सभापति बिमलेन्द्र निधिको संयोजकत्वको कार्यदलले ल्याउने राजनीतिक प्रस्ताव र आफैं संयोजक रहेको कार्यदलले ल्याउने आर्थिक प्रस्ताव पारित हुने महतको भनाइ थियो ।
तर पार्टी सदस्यता, पदाधिकारी संख्या, प्रदेश संरचना र विशेष परिस्थितिको व्याख्याको बारेमा पार्टीभित्र चरम असन्तुष्टि रहेको कुरा छिपेको छैन । विद्यार्थी संगठनको केन्द्रीय समितिको म्याद दुई महिना थप गरेर निर्धारित मितिमा चुनाव हुन नसकेको सन्देश नेपाली कांग्रेसले दिइसकेको छ । आफूलाई नेपालको सबभन्दा ठूलो लोकतान्त्रिक शक्ति बताउने कांग्रेसभित्र देखिएका यी स(साना किचलोले कांग्रेसको दाबीलाई आफैं खारेज गरिदिएको छ ।
कांग्रेस वृत्तमै चलेको चर्चा अनुसार पार्टी सभापति शेरबहादुर देउवालाई अधिनायकवादीको संज्ञा दिँदै उनीविरुद्ध गुटबन्दीमा लाग्ने समूह र सो समूहलाई हाबी हुन नदिने देउवाको दाउले पार्टी कमजोर हुन गएको हो ।
जसले गर्दा नेताहरूले रचनात्मक भूमिकातर्फ ध्यानै दिएका छैनन् । कतिपय के पनि ठान्छन् भने आन्तरिक गुटबन्दीका मुख्य पात्रका रूपमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइरालालगायत पार्टी सभापति बन्ने दाउमा देखिन्छन् । यद्यपि उनीहरूको यो दाउ अस्वाभाविक चाहिँ होइन ।
पार्टी नै सिद्धिने खतरा
नेपाली कांग्रेसले दशैं, तिहार र छठको शुभकामना आदानप्रदानका लागि आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका नेकपा वरिष्ठ नेता झलनाथ खनालले कार्यक्रमको समापनपछि पत्रकारहरूसँग भनेका थिए – अपोजिसन पार्टी (प्रमुख प्रतिपक्षी दल कांग्रेस) कता हरायो भन्ने लागिरहेको थियो, आज सानेपामा आउँदा भव्यताका साथ चियापान गरिरहेको भेटेँ, खुशी लागेको छ ।
त्यसो त सत्तासीन पार्टीका अन्य नेताहरूले पनि ‘कांग्रेसलाई लालटिन बालेर खोज्नुपर्ने’ अवस्था आएको भनिरहेकै थिए ।
पार्टी निकै कमजोर बनेको कांग्रेसकै युवा नेताहरूले पनि महसुस गरेका छन् । पार्टी साँच्चै कमजोर भएको र आम कार्यकर्तामा निराशा बढेको कांग्रेस युवा नेता प्रदीप पौडेल बताउँछन् ।
पौडेलले कांग्रेस सभापतिको अहिलेको रबैया हेर्दा पार्टी सिद्धिने खतरा कायम रहेको र यसलाई जोगाउने जिम्मा अब कार्यकर्ताको रहेको टिप्पणी गरे । नेपाली कांग्रेसभित्र मनपरी निर्णय गर्ने र त्यसलाई जबरजस्ती लाद्ने प्रकारको प्रवृत्ति हावी हुँदै गइरहेको र त्यसलाई कम गर्नका लागि आगामी महाधिवेशनपछि छानिने नेतृत्व स्पष्ट र डाइनामिक हुनुपर्नेमा पौडेलको जोड थियो । सर्वसम्मत निर्णय हुनुपर्नेमा बहुमतीय प्रक्रियामा प्रवेश गर्ने स्थिति कांग्रेसका लागि फाइदाजनक नभएको र यसले बीपी कोइरालाको ‘मेलमिलाप नीति’लाई पनि आघात पुर्याएको पौडेलको दाबी थियो ।
त्यसविपरीत धारणा कांग्रेसका अर्का नेता गोपालमान श्रेष्ठको छ । श्रेष्ठले पार्टीलाई सभापतिको नेतृत्वमा चल्न नदिएर अन्य नेताहरूले अराजकता सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।
विराटनगरमा कोइराला परिवारका तीन नेता एउटा मालामा सजिएको विषयलाई श्रेष्ठले पार्टी नेतृत्व लिने अभ्यासभन्दा पनि काकाभतिजको मिलनका रूपमा व्याख्या गरे । उनले भने, ‘नेतृत्व दाबी जसले पनि गर्न पाउँछ, तर दाबी गर्नेले व्याक्तिगत क्षमता प्रदर्शन गर्नुपर्छ । गुट या समूह बनाएर नेतृत्व दाबी गर्ने विधि लोकतान्त्रिक होइन ।’ नेताहरूले देखाएको यस्तो अराजकताले पार्टी नभएर आफैं सिद्धिने खतरा रहेको श्रेष्ठको भनाइ थियो ।
अवसानको कारकतत्त्व :नेतृत्व कब्जा गर्ने होडबाजी
नेपाली कांग्रेसको महाधिवेशनका लागि अझै लगभग डेढ वर्ष बाँकी छ तर अहिलेदेखि नै नेतृत्व कब्जा गर्ने होडबाजी चलिरहेको छ । आन्तरिक विवादका कारण कांग्रेसले सरकारको काम कारवाहीलाई समीक्षा गर्न पाएको छैन ।
सरकारले के गर्दैछ, के गर्दै छैन भन्ने कुराको वास्ता नेपाली कांग्रेसलाई नभएको जस्तो देखिन्छ । के कांग्रेसको आगामी नेतृत्व कोइराला परिवारमध्येबाट कसैले गर्छ त ? भन्ने प्रश्नमा गोपालमान श्रेष्ठ भन्छन्, ‘कोइराला परिवारमध्ये कसैले नेतृत्व गर्न चाहन्छ भने अघि बढे हुन्छ । रामचन्द्र पौडेलले राजनीति त्यागेर कोइराला परिवारबाट कोही उठाउने हो कि कोइराला परिवारलाई नेतृत्व नदिएर आफैं गर्ने हो, त्यो वहाँले जान्ने कुरा हो ।’ उसो त श्रेष्ठ आफू पनि आगामी महाधिवेशनमा सभापतिको दाबेदार रहेको बताउँछन् ।
उता युवा नेता प्रदीप पौडेल सभापति शेरबहादुर देउवा आन्तरिक समन्वय नगरी आफूलाई जे लाग्यो त्यही गर्दै हिँडेको आरोप लगाउँछन् । देउवाको यो स्वेच्छाचारिताले आगामी महाधिवेशनमा जबर्जस्ती नेतृत्व हडप्ने दिशातर्फ उन्मुख भएको शंका प्रदीप पौडेलको छ । पार्टीभित्र जिम्मेवारीका साथ नेतृत्व लिनेहरू धेरै छन् तर मनपरी ढंगले पार्टी चलाउने शैली र प्रवृत्ति बोकेका नेताहरूलाई कुनै पनि जिम्मेवारी दिन नहुने कुरामा पौडेल एकमत छन् ।
‘पार्टीभित्र पूर्ण सहमति र एकता कायम गर्ने जिम्मेवारी सभापतिकै हुन्छ, तर अहिले पार्टी विभाजित जस्तै देखिएको छ । सभापति असफल हुनुभएको छ । निर्वाचनमा पार्टीले हार खायो, यसको जिम्मेवारी सबैभन्दा बढी सभापतिले नै लिनुपर्छ । उहाँ पदमा बसिरहने तर जिम्मेवारी नलिने रोगबाट ग्रस्त हुनुभयो,’ उनले गुनासो गरे ।
सभापति देउवाको यो रबैया आगामी महाधिवेशनमा नेतृत्व छान्ने बेला बहसमा आउने पौडेलले बताए । ‘कसले के गरिरहेको छ ? कार्यकर्ताले हेरिरहेका छन् र आगामी नेतृत्व छान्ने बेलामा कार्यकर्ताले विवेक प्रयोग गर्नुपर्ने छ,’ के अब कोइराला परिवारमा नेतृत्व जान्छ त ? भन्ने प्रश्नमा पौडेल भन्छन्, ‘जोसँग जे छ उसले त्यही देखाउने हो । कोइराला परिवारमा ‘लिगेसी’ छ, वहाँहरूले त्यही लिगेसी देखाएर पार्टीको नेतृत्व मलाई देउ भन्नुहोला । त्यो आम चासोको विषय होइन । लिगेसीसँगै प्रखरता, योग्यता र भिजन हुनुपर्यो नेतृत्वका लागि । नयाँ नेतृत्व छान्ने जिम्मा कार्यकर्तालाई नै दिनुपर्छ हामीले भनेर हुने कुरा होइन ।’
२०४६ पछि देश लुटेको आरोप
भारतमा सत्तासीन भाजपाका नेता कार्यकर्ताले भारतीय कांग्रेसलाई ७० वर्षसम्म देश लुटेको आरोप लगाउने गर्दछन् । सरकारले केही गर्न सकेन भन्ने टिप्पणीमाथि मन्त्रीहरूकै प्रतिटिप्पणी यस्तो आउने गरेको छ । त्यही रोगले नेकपाका नेता कार्यकर्ताहरू पनि थलिएका छन् । सरकारको कामलाई लिएर कसैले आलोचना गर्यो भने ३० वर्षसम्म कांग्रेसले लुटेको देशलाई समृद्ध बनाउन केही समय लाग्ने तर्क नेकपाका नेता तथा कार्यकर्ताहरूले गर्ने गरेका छन् ।
युवानेता प्रदीप पौडेल भने नेपाली कांग्रेसले ३० वर्षसम्म देशको नेतृत्व गरेको कुरा स्वीकार्न तयार छैनन् । ‘कहिले माओवादी द्वन्द्व र कहिले ज्ञानेन्द्रले गरेको ‘कू’ का कारण कांग्रेसले काम गर्न पाएको थिएन । २०६३ पछि केही समय सुशील कोइराला र केही समय शेरबहादुर देउवाले नेतृत्व गरे, तर सबभन्दा बढी नेकपाका नेताहरूले सरकारको नेतृत्व गरेका छन् । बरु कांग्रेसले विभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व गरेर देशलाई असफल हुनबाट जोगाएको पौडेलको तर्क छ । के कांग्रेसलाई दोष लगाएर मात्र सबै ठीक हुन्छ ? जनताले दुईतिहाइ शक्ति दिएका छन्, कांग्रेसले गरेका सबै निर्णयहरू उल्ट्याए भैगो नि ’ पौडेल आक्रोश व्यक्त गर्छन् ।






















