राष्ट्र बैंकलाई झुक्याएपछि यी ६ विकाश बैंक र चार फाइनान्सले भेटे चड्कन, कति तिरे हर्जना ?
Wednesday Jan 18, 2023
वि.सं.२०७९ माघ ४ बुधवार १७:०४
नेपाल राष्ट्र बैंकले ६वटा विकास बैंक र चारवटा फाइनान्स कम्पनीलाई कारबाही गरी हर्जना तिराएको छ। चालू आवको पहिलो तीन महिनामा यी संस्थाहरुको गैरस्थलगत सुपरिवेक्षणको आधारमा हर्जना तिराएको हो।
कारबाहीमा परेका ६ वटा विकास बैंकमा कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक (२ पटक) र सालपा विकास बैंक रहेका छन्।
उक्तमध्ये कर्णाली डेभलपमेन्टलाई गत असारमा विपन्न वर्ग कर्जातर्फ कारबाही गरी १ लाख ५२ हजार ९ सय २९ रुपैयाँ हर्जना तिराइएको छ। त्यस्तै कर्पोरेट डेभलपमेन्टलाई कर्जा निक्षेप अनुपातमा कारबाही गरी गत साउनमा २० लाख १३ हजार र भदौमा २३ लाख १४ हजार ४ सय ९३ रुपैयाँ तिराइएको छ।
त्यसैगरी सिन्धु विकास बैंकलाई साउन र भदौमा क्रमशः सोही शीर्षकमा कारबाही गरी १ लाख २६ हजार ३ सय ८४ र १६ लाख ९९ हजार १ सय ५१ रुपैयाँ, नारायणी डेभलपमेन्टलाई सोही शीर्षकमा साउनमा ४ लाख ६३ हजार ७ सय ९४ र भदौमा ५ लाख १६ हजार ३ सय ७ रुपैयाँ, सप्तकोशी डेभलपमेन्टलाई सोही शीर्षकमा साउनमा २१ लाख ८० हजार ६ सय ६३ र भदौमा २८ लाख ९७ हजार ३ सय ५४ रुपैयाँ हर्जना तिराइएको राष्ट्र बैंकले जनाएको छ।
यता कर्णाली डेभलपमेन्ट बैंकलाई चालू आवको पहिलो त्रैमासिकमा पहिलो पटक अतिवार्य मौज्दातमा ७ सय ६ रुपैयाँ र दोस्रोपटक ३२ हजार ९ सय ६९ रुपैयाँ हर्जना तिराइएको छ। सालपा विकास बैंकलाई सोही अवधिमा सोही शीर्षकमा ३ सय ५३ रुपैयाँ हर्जना तिराइएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले चारवटा फाइनान्स कम्पनीलाई पनि पहिलो त्रैमासिकमा कारबाही गरेको छ। यसअनुसार नेपाल फाइनान्स लिमिटेडलाई कर्जा निक्षेप अनुपाततर्फ साउनमा १९ हजार ३ सय ३० र भदौमा १ लाख ६५ हजार ५ सय ८४ रुपैयाँ हर्जना लगाइएको छ।
त्यस्तै जानकी फाइनान्सलाई पनि सोही सोही शीर्षकमा साउनमा ६ लाख ५५ हजार १ सय ९३ रुपैयाँ र भदौमा ६ लाख ३७ हजार ७ सय ९९ रुपैयाँ हर्जना तिराइएको छ।
यता समृद्धि फाइनान्सलाई भदौमा ८० हजार ७ सय ४४ रुपैयाँ सोही शीर्षकतर्फ हर्जना गरिँदा प्रोग्रेसिभ फाइनान्सले पनि अनिवार्य मौज्दात शीर्षकमा २३ हजार १ सय ८८ रुपैयाँ हर्जना तिरेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

























