निर्वाचन ०८४ : एमाले एउटै लय,ताल र बुझाईका साथ परिचालित हुने
Saturday May 13, 2023
वि.सं.२०८० वैशाख ३० शनिवार १६:०६
काठमाडौं । एमाले प्रचार विभाग उप –प्रमुख विष्णु रिजालले एमाले पार्टीलाई पहिलो शक्ति बनाउने गरि ०८४ सालको निर्वाचलाई केन्द्रविन्दुमा राखेर पार्टी पंक्तिलाई परिचालन गर्ने बताएका छन् ।
शुक्रवार पार्टी कार्यालयमा भएको एमालेको पाँचौं पूर्ण बैठकपछि रिजालले एमालेलाई आगामी निर्वाचनामा पहिलो शक्तिको रुपमा स्थापित गर्न सिङ्गो केन्द्रीय कमिटी नै लाग्ने बताए ।
‘भोलि बस्ने केन्द्रीय कमिटीको बैठकमा ०८० जेठ देखि चैतसम्म नेकपा एमालेले देशव्यापी, प्रवास तथा जनसंगठनहरुमा के कस्ता कार्यक्र्रम गर्छ हामीले खाका प्रस्तुत गर्ने छौं र त्यसलाई केन्द्रीय कमिटीबाट पारित गरेर एउटै लय एउटै ताल र एउटै बुझाईका साथ नेकपा एमालेको सिङ्गो केन्द्रीय कमिटी परिचालित हुने छ ।’ उनले भने ।
उनले पार्टीको आन्तरिक सुदृढीकरण गरेर जनतासंग तल्लो स्तरमा पुगेर उनीहरुसंग जोडिए पछि एमाले बलियो बन्ने जिकिर गर्दै त्यसपछि अहिलेको गठबन्धन नटिक्ने दावी गरे ।
‘त्यो विल्कुल अस्थायी कुरा हो, यो पानीको फोका जस्तो हुन्छ । हामीले संगठन बलियो बनाएर अघि बढ्ने वित्तिकै सबै समस्याहरु समाधान भएर जान्छन् ।’ रिजालले भने ।
उनले गठबन्धन सरकारले संघीयतालाई कुरुप बनाउने गरि विभिन्न गतिविधिहरु गरेको भन्दै आरोप समेत लगाए ।
उनले भोलि बस्ने स्थायी कमिटीको बैठकले आगामी एक वर्षको एमाले पार्टीको वार्षिक कार्यक्रममा सुभाव दिने र प्राप्त सुझवलाई केन्दीय कमिटी मार्फत मूर्त रुप दिएर सक्रियताको साथ लागू गर्ने जानकारी दिए ।




























