भारत भ्रमणको तयारी पुरा भएको प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी : बजेटमाथिको छलफल भ्रमणपछि मात्रै
Tuesday May 30, 2023
वि.सं.२०८० जेठ १६ मंगलवार ००:५५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर आफ्नो भ्रमणबारे जानकारी दिएका उनले भ्रमणका क्रममा सीमा समस्या, ऊर्जा, हवाइ रुटलगायतको विषयलाई छलफल हुने जानकारी दिए ।
भ्रमणको क्रममा भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता हुने जानकारी दिए ।
नेपालको राष्ट्रिय हित र छिमेकी मित्रराष्ट्रहरूको सम्बन्धलाई केन्द्रमा राखेर आफनो भ्रमण हुने बताएका उनले त्यसका लागि पूर्व प्रधानमन्त्रीसहित सबैसँग परामर्श गरेको पनि सदनलाई जानकारी गराए ।
यसैबीच, प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्रै हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथि जेठ २१ देखि २३ गतेसम्म छलफल हुने सभामुख देवराज घिमिरेले बताए । बैठक आगामी २१ गते ११ बजेका लागि बोलाइएको छ । बजेटमाथि उठेको प्रश्नमा २५ गते अर्थमन्त्रीले जवाफ दिने छन् ।
प्रधानमन्त्री प्रचण्ड पर्सि १७ गते ४ दिने भ्रमणमा भारत जाँदै छन् ।























