क्यान महासंघको ‘नेपाल ब्लकचेन कन्क्लेभ’ भदौ ३१ गतेदेखि
Thursday Aug 17, 2023
वि.सं.२०८० साउन ३२ बिहीवार १७:०४
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आगामी भदौ ३१ गतेदेखि ‘नेपाल ब्लकचेन कन्क्लेभ’ आयोजना गर्ने भएको छ।
प्रविधिबारे सचेतना जगाउन, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच बृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ आयोजना गर्न लागेको महासंघले जानकारी दिएको हो।
कन्क्लेभको सह-आयोजकमा ब्लकचेन टेक्नोलोजीमा ८ वर्षदेखि कार्यरत क्लक बी बिजनेस टेक्नोलोजी छ। त्यस्तै, कम्युनिटी पार्टनरमा ब्लकचेन कम्युनिटी नेपाल रहेको छ।
कन्क्लेभले ब्लकचेन टेक्नोलोजीका एप्लिकेसनबारे जागरुकता बढाउने, विशेषज्ञहरूबीच ज्ञान आदानप्रदानको अवसर प्रदान गर्ने, टेक्नोलोजीका चुनौती तथा अपनाउनुपर्ने अवसरहरूलाई सम्बोधन गर्ने, विभिन्न क्षेत्रहरूमा ब्लकचेन टेक्नोलोजीको सम्भावना पत्ता लगाउने र त्यसका लागि सरोकारवालाहरूबीचको समन्वयलाई अघि बढाउने लक्ष्य राखेको क्यान महासंघका अध्यक्ष रञ्जित पोदारले बताए।
कार्यक्रममा ब्लकचेन क्षेत्रमा काम गरिरहेका कम्पनीहरू, विज्ञहरू, प्रविधि व्यवसायी, शिक्षण संस्था, नीति निर्माता तथा नेपाल सरकारका विभिन्न निकायहरूको सहभागिता हुनेछ।
साे क्रममा क्लब बी बिजनेस टेक्नोलोजीका बिजनेस टेक्नोलोजी प्रमुख युवराज आचार्यले एकै छानामुनी सरोकारवालाहरू बीच हुने छलफल तथा ज्ञान आदानप्रदान कार्यले नेपालमा ब्लकचेन प्रविधि र यसको विस्तारमा सघाउन पुग्ने बताए।
कार्यक्रमको मुख्य आकर्षणमा की नोट स्पिच, प्यानल डिस्कसन, विज्ञ तथा विशेषज्ञबाट प्रिजेन्टेसनका साथै वित्त, स्वास्थ्य सेवा, सप्लाई चेन म्यानेजमेन्ट, ब्लकचेन टेक्नोलोजीमा शिक्षाविद्को भूमिका, ब्लकचेन टेक्नोलोजीका एप्लिकेसनहरू लगायत विभिन्न शीर्षकमा सेसनहरू सञ्चालन हुनेछन् ।
यो कन्क्लेभले ब्लकचेन टेक्नोलोजीको क्षेत्रमा रहेका असमझदारी हटाई व्यावसायिक रूपमा यस क्षेत्रको विकास र विस्तार गर्ने, जनशक्तिलाई प्रोत्साहन गर्ने, ब्लकचेनमा आधारित समाधान तथा अवसरहरूको पहिचान गर्ने र उद्योगमैत्री नीति तर्जुमा गर्न राज्यलाई सघाउने अपेक्षा लिएको क्यान महासंघका महासचिव तथा नेपाल ब्लकचेन कन्क्लेभका संयोजक चिरञ्जीवी अधिकारीले बताए ।
कन्क्लेभमा सहभागी हुन इच्छुक व्यक्ति तथा संस्थाका लागि आउँदो भदौं ७ गते(Thursday, August 24, 2023) देखि अनलाइन रजिष्ट्रेसन खुलाइने छ ।




























