संघीय संसद्को कार्यवाहक महासचिवमा पाण्डेय
Wednesday Dec 13, 2023
वि.सं.२०८० मंसिर २७ बुधवार ११:३४
काठमाडौं । सभामुख देवप्रसाद घिमिरेले प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोकेका छन् ।
प्रशासनिक नेतृत्व नहुँदा संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कामहरुमा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले घिमिरेले र्पाण्डेयलाई कार्यवाहक महासचिव तोकेका हुन् ।
‘प्रतिनिधि सभा नियमावली’ २०७९ को नियम २ को खण्ड (ढ) तथा “राष्ट्रिय सभा नियमावली २०७५ को नियम २ को खण्ड (ड) बमोजिम राष्ट्रिय सभाका अध्यक्षको परामर्शमा मिति मंसिर २७ गतेबाट लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि महासचिवको सेवा सुविधा पाउने गरी संघीय संसदको महासचिवको काम गर्न तपाईंलाई तोकेको छु ।’ पत्रमा भनिएको छ ।
सोमवार संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेयलाई राष्ट्रपतिसमक्ष नियुक्तिका लागि सिफारिस गरिएको थियो । तर उनको राजीनामा राष्ट्रपति पौडेलले स्विकृत गरिसकेका भने छैनन् ।

























