थानकोटका मट्टीतेल ट्यांकीमा अब पेट्रोल भरिने, मर्मतको जिम्मा भारतीय कम्पनीलाई
Thursday Nov 24, 2016
वि.सं.२०७३ मंसिर ९ बिहीवार ०४:४७
९ मंसिर, काठमाडौं । नेपाल आयल निगमले एक हप्तापछि काठमाडौंको थानकोट डिपोमा पेट्रोल भण्डारण क्षमता विस्तारको काम सुरु गर्ने भएको छ । यसअघिको मट्टीतेल ट्यांकीलाई अब पेट्रोल भर्न मिल्ने गरी स्तरोन्नति गर्न लागिएको हो ।
अहिले मट्टीतेलको माग ज्यादै न्यून भएकाले त्यसलाई पेट्रोल भण्डारका रुपमा परिवर्तन गर्न लागिएको निगमले जनाएको छ । झण्डै ४२ सय किलोलिटर पेट्रोल भण्डारण गर्न मिल्ने गरी ट्यांकी स्तरउन्नती गर्न भारतको ट्यांकटेक कम्पनीलाई जिम्मा दिइएको छ ।
डेढ करोड रुपैयाँ भन्दा बढीको लागतमा ट्यांकटेकले भण्डारण विस्तारको काम गर्नेछ ।
डिपोको स्तर उन्नतीको काम सुरु गर्न ट्यांकटेकले भारतबाट प्राविधिक सामग्री आयतको प्रक्रिया थालेको छ । निर्माणको काम सुरु भएपछि दुई महिनामै थानकोट डिपोमा ६ हजार किलोलिटर पेट्रोलको भण्डारण सुरु हुने निगमको दावी छ ।
अहिले निगमसँग १८ सय किलोलिटर मात्रै पेट्रोल भण्डारण गर्ने क्षमता छ । तर, त्यसमध्ये पनि ७ लाख लिटर क्षमताको ट्यांकी बिग्रिएपछि ११ सय किलोलिटर मात्रै पेट्रोल भण्डारण भइरहेको छ ।
भारतीय कम्पनी ट्यांकटेकले बिग्रएको पेट्रोल ट्यांकको पनि मर्मत गर्ने गरी सम्झौता भएको निगमका प्रवन्ध निर्देशक गोपालबाहदुर खड्काले बताए ।
‘मट्टीतेलका पुराना दुईवटा ट्यांकीलाई अब पेट्रोल राख्न मिल्ने गरी तयार गरिनेछ’ खड्काले भने, ‘योसँगै बिग्रिएको एउटा ट्यांकीको पनि मर्मत भएर ६ हजार लिटर पेट्रोल भण्डारण गर्न मिल्ने क्षमतासहित डिपोको विस्तार हुनेछ ।’