साउदीमा डोनाल्ड ट्रम्पलाई भव्य स्वागत

Sunday May 21, 2017
वि.सं.२०७४ जेठ ७ आइतवार ०९:१८

७ जेठ, रियाद- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो विदेश भ्रमण साउदी अरव भएको छ । पहिलो विदेश भ्रमणका रुपमा ट्रम्प शनिबार आठ दिने भ्रमणका लागि साउदी अरव पुगेका छन् । साउदीमा उनलाई भव्य स्वागत गरिएको छ भने उनले साउदी अरवका राजा सल्मान र राजपरिवारका अन्य सदस्यलगायतलाई भेट गर्ने अपेक्षा गरिएको छ । गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता रहेको भन्ने आरोपका बारेमा छानविन गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गरिए लगत्तै उनी साउदी अरब भ्रमणमा निस्केका हुन् ।
रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न सङ्घीय जाँच विभागका पूर्वप्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्ताको रुपमा नियुक्त गरिएको छ । मलर सन् २००१ देखि २०१३ सम्म एफबीआइका प्रमुख थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई अघिल्लो हप्ता बर्खास्त गरेपछि उमलरलाई नियुक्त गरिएको हो । साउदी अरवको रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार विहान ९ः५० मा रातो कर्पेटसहित स्वागत गरिएको थियो ।
ट्रम्पले आफ्नी श्रीमतीसहित राजा सल्मानलाई भेट गर्ने छन् । शनिबार बेलुका नै उनले दुई जना शक्तिशाली युवराजलाई पनि भेट गर्ने कार्यक्रम रहेको छ । उनले शिर्ष नेताहरुलाई भने आइतबार मात्रै भेट्ने जनाइएको छ । रियादको यो भ्रमणलाई इश्लामिक देशहरुसँगको अमेरिकाको सम्वन्ध सुधार्ने अवसरका रुपमा लिइएको छ ।