सुरु भयो संयुक्त कारोबार

Thursday Jul 13, 2017
वि.सं.२०७४ असार २९ बिहीवार ०८:१७

२९ असार काठमाडौँ – नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) र एस डेभलपमेन्ट बैंकले ‘नेपाल इन्भेस्टमेन्ट बैंक’ को नाममा संयुक्त कारोबार सुरु गरेको छ । दुवै बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएपछि औपचारिक रूपमा संयुक्त कारोबार सुरु गरेको जारी विज्ञप्तिमा छ ।
एसलाई एक सय बराबर ४१ सेयर स्वाप रेसियोमा खरिद गरेपछि एनआईबीएलको चुक्ता पुँजी ९.२४ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ । एसको प्राप्तिपछि एनआईबीएलको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत साबिककै रहेको पनि विज्ञप्तिमा छ ।
बैंकका अनुसार केन्द्रीय कार्यालय पनि एनआईबीएलको दरबारमार्गस्थित कार्यालयलाई नै यथावत् राखिएको छ । एसको प्राप्तिपछि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत भएको बैंकको विज्ञप्तिमा छ ।