बहिनी इशावेललाई हिरोइन बनाउन डटेर लागीन कैट्रिना

Saturday Jul 15, 2017
वि.सं.२०७४ असार ३१ शनिवार ०५:३५

एजेन्सी – क्याट्रिना कैफ आफ्नी बहिनी इशावेललाई बलिउडमा स्थापित गराउने धुनमा लागेकी छिन् । त्यसका लागि क्याट्रिनाले अचेल निर्माताहरूलाई आफ्नी बहिनीको ‘पर्फमेन्स टेप’ पठाउने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
बुमजस्तो सी ग्रेडको फिल्मबाट बलिउडमा डेब्यु गरेकी क्याट्रिनालाई हिरोइनका रूपमा चल्न सलमान खानले निकै सहयोग गरेका थिए । सलमानसँगको अफेयरका कारण पनि चर्चामा आउने गरेकी उनी पछि रणवीर कपुरको प्रेममा परिन् । रणवीरसँग ब्रेकअप भएपछि भने उनी फिल्मविहीन नै भइन् ।
त्यसपछि उनी फेरि सलमानको शरणमा पुगिन् । सलमानले उनलाई टाइगर जिन्दा हैमा फेरि हिरोइन बनाएका छन् । त्यति मात्रै होइन, क्याट्रिनाको अनुरोधमा सलमानले उनकी बहिनी इशावेललाई डा. कैबी नामक अन्तर्राष्ट्रिय फिल्ममा मौका दिलाएका थिए । सो फिल्ममा सलमान सहनिर्माता थिए । तर, फिल्म आए–गएको थाहै भएन ।
बहिनीको डेब्यु फ्लप भएपछि क्याट्रिना दुःखी भइन् । अहिले फेरि उनी बहिनीलाई हिरोइन बनाउन डटेर लागेकी छिन् । तर निर्माता, निर्देशकले उनलाई पत्याइरहेका छैनन् । बीचमा क्याट्रिनाले इशावेलका लागि फिल्म बनाउने कुरा पनि आएको थियो । तर, उनी आफैँले आँट गर्न सकेकी छैनन् ।