नाडेप लघुवित्तको आइपिओमा दुई दिनमा साढे पाँच गुणा बढी आवेदन
Friday Jun 29, 2018
वि.सं.२०७५ असार १५ शुक्रवार ०३:११
काठमाडौं–नाडेप लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि निष्काशन गरेको साधारण सेयरमा साढे पाँच गुणा बढी आवेदन परेको छ । लघुवित्तको सेयरमा सोमबारसम्म ५४ हजार आवेदकले सो गुणामा सेयर माग गरेका हुन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले दिएको जानकारी अनुसार सोमबार बेलुकासम्म ५४ हजार आवेदकले २४ लाख कित्ता सेयरका लागि आवेदन गरेका छन् । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणका लागि चार करोड ३२ लाख रुपैयाँको आईपिओ निष्काशन भएको हो । जसमा २४ करोड रुपैयाँ बढीको आवेदन परेको छ । यो ५.५६ गुणा बढी हो ।
लघुवित्तले असार १० गतेदेखि चुक्ता पूँजीको ३० प्रतिशत अर्थात चार करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता आईपिओ निष्काशन गरेको हो । आइपिओमा न्युनतम २० कित्ता र अधिकतम २ हजार ४ सय कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था छ । कम्पनीको आईपिओ बुधबार बन्द हुनेछ । लगानीकर्ताले कम्पनीको रजिष्टर्ड कार्यालय गजुरी, बिक्री प्रबन्धको कार्यालय तथा आस्वा सेवा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्नेछन् । सिडिएसीको मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि आवेदन गर्न सक्नेछन् ।
कुल आइपिओमध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई २४ हजार कित्ता शेयर सुरक्षित गरिएको छ । बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड हुनेछ । धादिङको गजुरीमा प्रधान कार्यालय रहेको लघुवित्तले प्रधान कार्यालय सहित ६२ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दे आइरहेको छ । कम्पनीको चुक्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ । लघुवित्तले चालु आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको जगेडा कोषमा १५ करोड ५६ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको निष्कृय कर्जा २.२० प्रतिशत रहेको छ ।