एक अर्बका दुई सेट रेल किन्न प्रधानमन्त्री ओलीले भारत पठाए टीम,ओलीको फोटो टाँसेर यसरी कुद्ने भए रेल
Thursday Nov 29, 2018
वि.सं.२०७५ मंसिर १३ बिहीवार ०६:१९

भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म आउने रेलको लिक लगभग तयार भइसकेको छ। कात्तिक पहिलो साता ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) बोकेर उक्त लिकमा रेल गुडिसकेको छ।
अधिकारीहरूले सन् २०१८ भित्रै जयनगरदेखि कुर्थासम्म नियमित रेल सञ्चालन गर्ने बताएका छन्।
तर रेल आफैं किनेर चलाउने कि भाडामा लिनेबारे भने टुंगो लागिसकेको छैन।
प्रधानमन्त्री केपी शर्मा ओली भने रेल भाडामा लिनुको साटो आफैं किन्नु पर्ने पक्षमा छन्।
‘प्रधानमन्त्रीले भाडामा होइन किनेरै रेल चलाउने चाहना व्यक्त गर्नुभएको छ,’ रेल विभागका एक अधिकारीले भने।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले रेल भाडामा लिने कि किन्ने दुबै विषयमा छलफल भइरहेको बताए।
‘रेल किन्न पनि सजिलो रहेनछ। हामीलाई चाहिने किसिमको रेल हुनुपर्यो। नत्र अर्डर गरेर बनाउनु पर्ने रहेछ,’ अधिकारीले भने, ‘हामी सकभर किन्नेमा नै छौं तर भनेजस्तो पाइएन भने अर्डर गरेर तत्काल भाडामा लिने कि भन्ने कुरा पनि भइरहेको छ।’
रेल विभागका अनुसार जयनगर-कुर्था रूटमा चलाउन मिल्ने एक सेट रेलको मूल्य ५० करोड रूपैयाँ पर्छ। यो रूटमा चलाउन कम्तिमा दुई सेट रेल चाहिने विभागले जनाएको छ।
‘एउटामा समस्या भयो भने अर्को चलाउनु पर्छ, दुईटा सेट त चाहिन्छ नै,’ विभागका महानिर्देशक बलराम मिश्रले भने।
जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरमा रेल चलाउने विभागको तयारी छ।
यसैबीच मन्त्रालयको एक टोली भारत गएर रेलवे सञ्चालनको अध्ययन गरेर फर्किएको छ। सचिव अधिकारीको नेतृत्वमा पाँच जनाको टोली शुक्रबार मुम्बई गएको थियो।
टोलीले मुम्बईदेखि गोवासम्मको ६०० किलोमिटर रेल सञ्चालनको अध्ययन गरेको महानिर्देशक मिश्रले बताए।
‘सुरक्षा, लाइट, सकेंत, स्टेशन व्यवस्थापन, कर्मचारी संगठनबारे उनीहरूले कसरी काम गरेका रहेछन् भनेर हेर्यौं,’ मिश्रले भने, ‘रेल चलाउनु त जहाज चलाउनुजस्तै पो रैछ।’
नेपाली टोलीलाई कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसिएल) का कर्मचारी स्थलगत भ्रमण गराएको थियो। यही कम्पनीले रक्सौललाई काठमाडौं जोड्ने रेलमार्गको स्थलगत अध्ययन गरेको थियो।
उक्त अध्ययनमा कोंकणले १४० किलोमिटर र १९० किलोमिटरका दुई रूटमा रेलमार्ग बनाउन सकिने जनाएको छ।





















