आठ जिल्लाको एसइइ परिक्षा रद्द, चैत २२ गते पुनः परिक्षा हुने चार सदस्यीय छानबिन समिति गठन
Thursday Mar 28, 2019
वि.सं.२०७५ चैत १४ बिहीवार ०८:३७

जनकपुर चैत १४। परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत बिहीबार विज्ञान विषयको परीक्षा रद्द गरिएको छ ।
बुधबार राति ११ बजेतिर भाइबर, इमो, ह्वाट्सएप आदि माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।
‘प्रदेश २ भरी नै विज्ञान विषयको परीक्षा रद्द हुन्छ’ उनले भने । रद्द भएको परीक्षा चैत २२ गते गरिने उनले बताए ।
बुधबार राति सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको थियो । बिहीबार परीक्षा भएपछि जिल्ल परीक्षा समन्वय समितिले जिल्लाको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो ।
तर प्रदेशभरी एउटै प्रश्नपत्र हुने भएकाले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाकै विज्ञान विषयको परीक्षा रद्द गरिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा एसईई विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न समिति गठन गरेको छ।
बिहीबार बसेको बोर्ड बैठकले परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिको सदस्यमा रमाकान्त शर्मा, रमेश मैनाली र रमेश अधिकारी रहेका छन्।
छानबिन समितिका सदस्य शर्मा शिक्षा विकास तथा समन्वय निर्देशनालय प्रदेश २ का निर्देशक हुन् भने मैनाली शिक्षा विज्ञान तथा प्रविध मन्त्रालयका उपसचिव हुन्। राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत अधिकारीलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ।
समितलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिए। बोर्ड बैठकले प्रदेश–२ मा बिहीबार सञ्चालन भएको एसईई परीक्षा रद्ध गरेको छ।
बिहीबारका लागि तयार भएको विज्ञान विषयको प्रश्नपत्र बुधबार नै सार्वजनिक भएको खुलासा भएपछि बोर्डले परीक्षा रद्ध गर्ने निर्णय गरेको हो।
बिहीबार रद्ध भएको प्रदेश २ को विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने निर्णय भएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए।
























