माघे सङ्क्रान्ति र किरात यले सम्वत्–५०८० को शुभकामना
Wednesday Jan 15, 2020
वि.सं.२०७६ माघ १ बुधवार १२:०४

काठमाडौँ, ७६ माघ १। नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संगठन नेपाल आदिवासी जनजाति महासंघको तर्फबाट ‘माघे सङ्क्रान्ति/माघे सकराती/मकर सङ्क्रान्ति/माघी/कक्फेवा तङ्नाम/म्हिलाङे सोङ्ती तथा छार म्हेङ–२०७६ र किरात यले सम्वत्–५०८०’को उपलक्ष्यमा सम्पूर्ण नेपालीजन, समग्र देश र विश्व जगतको सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
राष्ट्रिय पर्व माघे सङ्क्रान्तिलाई प्रमुख ऐतिहासिक सांस्कृतिक राष्ट्रिय चाड र नयाँ वर्षको रुपमा मनाउने मगर, थारु, छन्त्याल, कुमाल, चेपाङ, नेवार (घ्यू चाकू खाने दिन) लगायतका सम्पूर्ण आदिवासी जातजातिहरू र किरात यले सम्वत्लाई मनाउने सम्पूर्ण किराती समुदायका आमाबाबा, दिदिबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
आदिवासी जनजातिको त्याग, योगदान र बलिदानबाट समेत स्थापित बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, धर्मनिरपेक्ष, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मूल मर्म र भावनाअनुरुप देशको बहुलता र विविधितायुक्त विशेषतालाई सैद्धान्तिक र व्यवहारिक रुपले आत्मसात गर्दै सबै वर्ण, धर्म, नश्ल, जातजातिका संस्कृति, चाडपर्व, धार्मिक रीतिरिवाजहरूलाई राज्य सरकारले समान व्यवहार गर्नुपर्नेमा आदिवासी जनजातिको सभ्यता, इतिहास, पहिचान र स्वाभिमानसँग जोडिएका राष्ट्रिय पर्वहरूः माघे सङ्क्रान्ति, उधौली, उभौली, तमू ल्होसार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार लगायतको नाममा दिइएको राष्ट्रिय बिदा खारेज गरेर वर्तमान राज्य सरकार एकल सांस्कृतिक जातिवादी रुपले अघि बढिरहेकोप्रति सम्पूर्ण जनजाति समुदाय खेद व्यक्त गर्दछौं ।
०६२/६३ को राजनीतिक परिवर्तनपश्चात् आदिवासी जनजातिहरूले सर्बजनकि विदासँगै राष्ट्रिय पर्वको सम्मान प्राप्त गरेकोमा वर्तमान सरकारले सार्बजनिक बिदा खारेजी गर्दै एकल जातीय/नश्लीय व्यवहार प्रकट गरेकोप्रति खेद व्यक्त गर्दै उक्त राष्ट्रिय पर्वहरूको सार्बजनिक बिदा यथावत कायम राख्न तथा पुनस्र्थापित गर्न नेपाल सरकारलाई यस माघे सङ्क्रान्ति–२०७६ र किरात यले सम्वत्–५०८० को अवसरमा समेत पुनः जोडदार आग्रह गर्दछौं ।
माघे सङ्क्रान्तिको अवसरमा माघ १ गते सार्बजनिक विदा घोषणा गर्ने सम्बन्धित प्रदेश सरकारहरूप्रति महासंघ हार्दिक धन्यवादसहित आभार व्यक्त गर्दछौं ।
राष्ट्रिय पर्व ‘माघे सङ्क्रान्ति/माघे सकराती/मकर सङ्क्रान्ति/माघी/कक्फेवा तङ्नाम/म्हिलाङे सोङ्ती तथा छार म्हेङ–२०७६ र किरात यले सम्वत्–५०८०’को सम्पूर्णमा पुनः हार्दिक शुभकामनासहित यस राष्ट्रिय पर्वलाई पनि राज्य सरकारले समान व्यवहार गरेको अनुभूति दिने गरी राज्यको तहबाट कार्य गर्ने सद्बुद्धि र प्रेरणा मिलोस् भन्ने समेत कामना गर्दछौं ।





























