नेपालमा संक्रमितको संख्या ७ सय ८३ पुग्याे
Tuesday May 26, 2020
वि.सं.२०७७ जेठ १३ मंगलवार १९:०७

काठमाडौं – सप्तरीमा थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बोदेबरसाइन नगरपालिकाका ८, बलानबिहुल गाउँपालिकाका २ र सुरुङ्गा नगरपालिकाका १ गरी कुल ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको बताए । उनीहरूलाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा लगिँदैछ।
भारतबाट आएका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि सम्पर्कमा रहेका अरुको पनि सोधपुछ भइरहेको उनले बताए । भारतबाट आएपछि उनीहरूलाई सम्बन्धित पालिकाहरूको क्वारेन्टिनमा राखिएको थियो।
योसँगै नेपालमा संक्रमितको संख्या ७ सय ८३ पुगेको छ। यसअघि स्वास्थ्य मन्त्रालयले आजै ९० जनामा संक्रमण देखिएको बताएका थिए । यसमध्ये अहिलेसम्म १ सय १२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन भने चार जनाको ज्यान गएको छ ।






















