सरकारले नेपालका आदिवासीहरुको विभिन्न अधिकारहरु हनन्
Tuesday Jul 21, 2020
वि.सं.२०७७ साउन ६ मंगलवार २०:४४

काठमाडौं – सरकारले नेपालका आदिवासीहरुको विभिन्न अधिकारहरु हनन् गरेको छ । राज्यको हरेक संयन्त्रमा प्रतिनिधित्वको सबाल, चाडपर्व लगायतका साँस्कृतिक अधिकार, भूमि माथिको स्वामित्व र अधिकार, भाषिक अधिकार, धार्मिक अधिकार, राजनैतिक अधिकार सहितको हाम्रो पहिचानमाथि बारम्बार प्रहार गर्दै आएको छ ।
सरकारले हामी माथि प्रहार गर्ने क्रममा यही २०७७ साउन ४ गते आइतबार चितवन जिल्लाको माडी नगरपालिका ९ नम्बर वडामा रहेको चेपाङ बस्तीमा चितवन राष्ट्रिय निकुञ्जलाई माध्याम बनाई आगो लगाउँदै हात्ती प्रयोग गरेर अमानवीय ढंगले घरहरु भत्काएकोप्रति नेपाल अदिवासी जनजाति महासंघ घोर आपत्ति प्रकट गर्दछ ।
साँढे दुई दशकभन्दा पहिलेदेखि बसोबास गर्दै आएका सुकुम्बासी चेपाङहरुको स्वतन्त्र रुपमा बाँच्न पाउने संवैधानिक हकलाई वेवास्ता गर्दै नेपाल सरकार आफैंले संविधानको खिल्ली उडाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमार्फत सरकारले गरेको यो अमानविय निकृष्ट हर्कतको हामी निन्दा गर्दछौं ।
निकुञ्जको यस्तो निच कार्यले आदिवासी चेपाङ समुदायको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, महत्वपूर्ण कागजातहरु पूर्ण रुपमा नष्ट भएको छ । कोभिड १९ को महामारी र बाढीपहिरोको विपत्तिमा परेका त्यस बस्तीका चेपाङहरुलाई राहत दिनुको सट्टा उल्टो घरबार विहिन बनाएर सरकारले आफ्नो चरित्र उदाङ्गो बनाएको छ ।
यस घटना, नेपाल सरकारले अंगिकार गरेको विभिन्न अन्तराष्ट्रिय सन्धि, सम्झौता, मूल्य मान्यताको मर्मलाई उल्लङ्घन गर्दै मानवअधिकारको पूर्ण विरुद्धमा छ । यस घटनाको छानविन गरी दाषीउपर कारवाही गर्दै निर्दोष चेपाङहरुलाई उचित व्यवस्थापन गर्न नेपाल आदिवासी जनजाति महासंघ जोडदार माग गर्दछ । यदि सरकारले यस घटनाको वेवास्ता गरेमा नेपाल आदिवासी जनजाति महासंघ कडा आन्दोलनमा उत्रने चेतावनी यसै विज्ञप्तिमार्फत आह्वान गर्दछौं ।
अन्तमा, सरकारको यस्तो अमानवीय घृणित कार्यलाई निर्मूृल पार्नको लागि राष्ट्रिय मानवअधिकार आयोग लगायत सबै सारोकारवालाहरुलाई आग्रह गर्दछौं ।























