राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघ बीच सम्झौता
Wednesday Sep 30, 2020
वि.सं.२०७७ असोज १४ बुधवार २०:५७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघ बीच एक सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले हस्ताक्षर गरे ।
सम्झौता पछि नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध रहेका उद्यमीहरुलाई महासंघले परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ ।
बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २४१ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बैंकले जनाएको छ ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता पश्चात देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताए । महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बैंकसंगको यो सहकार्यले घरेलु तथा साना उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुग्ने बताए ।
























