चन्द्र ढकाल समूहका २ जना केन्द्रीय सदस्यमा निर्विरोध
Thursday Nov 19, 2020
वि.सं.२०७७ मंसिर ४ बिहीवार १८:२६

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा चन्द्र ढकाल समूहबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका दुईजना निर्विरोध चयन भएका छन् ।
प्रदेश १ लाई दिइने केन्द्रीय सदस्यको एक कोटामा राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघले पाउने अर्को केन्द्रीय सदस्यको कोटामा सन्दीप अग्रवाल निर्विरोध चयन भएका हुन् । उनीहरु दुवैले ढकाल समूहबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका थिए । तर, दुवै कोटाका केन्द्रीय सदस्यका लागि अरुले उम्मेद्वारी घोषणा नगरेपछि उनीहरु निर्विरोध चयन भएका हुन् ।
प्रदेश १ को तर्फबाट केन्द्रीय सदस्यमा निर्विरोध भएका राउत महासंघको प्रदेश कमिटीका उपाध्यक्ष समेत हुन् भने अग्रवाल नेपाल–इन्डोनेसिया उद्योग वाणिज्य संघका अध्यक्ष हुन् ।
महासंघको ५४ औं वार्षिक साधारणसभा र वरिष्ठ उपाध्यक्ष लगायतका पदहरुको चुनावी कार्यक्रम मंसिर ११, १२ र १३ गते काठमाण्डौमा हुनेछ ।
महासंघको चुनावमा यसपटक वरिष्ठ उपाध्यक्षका लागि एकातिर चन्द्र ढकाल रहेका छन् भने अर्कोतर्फ किशोर प्रधान रहेका छन् । दुवैको समूहमा जिल्लानगर उपाध्यक्ष, वस्तुगत तथा एशोसिएट उपाध्यक्ष, सदस्यहरुमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
महासंघले तोकेको मितिमै चुनाव हुने निश्चय भएको भन्दै उम्मेद्वारहरु चुनावी अभियानमा लागिरहेको बेला बिहीबार नै महासंघकै स्थायी समिति सदस्य तथा कार्यकारिणी समिति सदस्यले जिल्ला प्रशासन कार्यालयमा चुनाव अबैधानिक भएको भन्दै रोक्न माग गर्दै उजुरी हालेका छन् ।
























