सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौतामा हस्ताक्षर
Wednesday Jan 06, 2021
वि.सं.२०७७ पुस २२ बुधवार १९:४३

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी बुधबार उक्त बैंकसंग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली,२०७३ बमोजिम बुधबार बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमकाबीच बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
दुवै बैंकले आ—आफ्नो विशेष÷साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गरिनेछ । दुवै बैंकले गत कार्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेको थियो ।
२०७७ साल पौष २२ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२४ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०२ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ ।
सहमतिअनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली पूर्ति गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ ।
यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।























