पेट्रोलियम पदार्थको अर्डर अब अनलाइनबाटै गर्न सकिने,आज यसरी हुँदैछ उद्घाटन
Sunday Apr 18, 2021
वि.सं.२०७८ वैशाख ५ आइतवार १०:१५

काठमाडौं । नेपाल आयल निगमले आज (शुक्रबार) देखि पेट्रोलियम पदार्थको अनलाइन अर्डर, नियमन एवम् भुक्तानी प्रक्रिया सुरु गरेको छ। जसको औपरिक उद्घाटन आज हुँदैछ।
यसअघि नै निर्माण गरिएको ईआरपी एप्लिकेसनमार्फत् निगमले सोको कार्यान्वयन आजदेखि सुरु गरेको हो। निगमका प्रवक्ता विनितमणि उपाध्यायले शुक्रबार बिहानदेखि ईआरपी प्रविधिमार्फत् कारोबार सुरु गरिने जानकारी दिए।
याे सेवा पेट्राेलियम व्यवसायीका लागि मात्रै हाे, उपभाेक्ताका लागि हाेइन।
यसअघि निगमले उक्त प्रविधिमार्फत् कारोबार सुरु गरिने बताए पनि व्यवसायीले असन्तुष्टि जनाउँदै आएका थिए। व्यवसायीसँग पटक–पटक छलफल गरिएको र प्रयोगपछि नै सिक्दै जाने भएकाले ईआरपी प्रविधिप्रति पछिल्लो समय व्यवसायी पनि विश्वस्त भइसकेका उपाध्यायको भनाइ थियो।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार अनलाइन (एप्लिकेसन) मार्फत् पेट्रोलियम पदार्थको अर्डर गरेमा पारदर्शी हुने, चोरी तथा तस्करी कम हुने छ।
समग्रमा एप्लिसकेनमार्फत् पेट्रोलियम पदार्थको कारोबार गर्दा निगमलाई नियमन गर्न सजिलो हुने निगमका अधिकारीहरू बताउँछन्। शुक्रबार बाट सुरु भएको उक्त प्रविधिको आज आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्घाटन गर्ने कार्यक्रम छ।

























