CG Electronics
IME Life
NIMB

नेपाल टेलिकमको नाफा बढाउन र सेवा गुणस्तरीय बनाउन टेलिकमका प्रबन्ध निर्देशकले बनाए यस्ता योजना

NIMB
Himalayan Bank

नेपाल टेलिकमले नाफा लगातार घटेपछि तीन क्षेत्रमा लगानी केन्द्रित गर्ने रणनीति बनाएको छ। दूरसंचार सेवामा निजी क्षेत्रको एनसेल र फाइबर इन्टरनेट सेवामा निजी क्षेत्रका ठूला आइएसपीहरुसँग प्रतिष्पर्धा गरिरहेको टेलिकमले एफटीटीएच, मोबाइल र लिज कनेक्टिभिटी (इन्टरप्राइजेज) लाई प्राथमिकता दिएर लगानी विस्तार गर्न लागेको हो।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आम्दानी नघटेका क्षेत्रमा लगानी केन्द्रित गर्ने जानकारी दिए। विगत तीन वर्षको तथ्यांक केलाउँदै अधिकारीले भने-‘टेलिकमले जुन क्षेत्रमा लगानी गरेको छ सो क्षेत्रमा आम्दानी घटेको छैन।’ जिएसएम मोबाइल र एफटीटीएच सेवामा टेलिकमले २०७६/०७७ को तुलनामा २०७७/७८ मा आम्दानी बढाएको छ।

अधिकारीले फिक्स्ड लाइन (ल्याण्डलाइन), एडीएसएल, सीडीएमए सेवामा टेलिकमले लगानी गर्नै छोडेको जानकारी दिए। टेलिकमले चालु आवमै सीडीएमए सेवालाई पूर्ण रुपमा मोबाइल सेवामा माइग्रेसन गर्ने रणनीति कार्यान्वयन गरिरहेको छ। टेलिकम वाइम्याक्स सेवालाई पनि माइग्रेसन गर्ने योजनामा रहेको अधिकारीले बताए।

कम्पनीले लगानी गर्नै छोडेपछि फिक्स्ड लाइन (ल्याण्डलाइन), एडीएसएल र सीडीएमए सेवाबाट हुने आम्दानी ओरालो लागेको छ। कोरोना महामारीको असर सुरु भएसँगै यात्रा प्रतिबन्ध लागेपछि अन्तर्राष्ट्रिय कल, रोमिङ र एसएमएसमा आम्दानी घटेको देखिन्छ।

टेलिकमले आफ्नो कुल आम्दानीको करिब ७० प्रतिशत भ्वाइस सेवाबाट गर्ने गरेको जनाएको छ। लकडाउनका कारण उक्त आम्दानीमा नराम्रैसँग असर पुगेको अधिकारीले जानकारी दिए।

‘सामान्य शुल्कमा टेलिकमले एक रुपैयाँमा एक एमबी डेटा दिन्छौं। यो ट्राफिक जम्मै प्याकेज डेटामा सिफ्ट भयो। प्याकेजमा एक रुपैयाँमा त १० देखि ५० एमबीसम्म डेटा आउँछ,’ अधिकारीले भने,’शतप्रतिशत पे एज यू गो ट्राफिक प्याकेजमा रुपान्तरण हुन्छ यसपछि हुने ग्रोथले आम्दानी बढाउने हो। प्याकेज सिफ्टिङको काम लगभग सकिएको छ अब जति डेटाको खपत बढ्छ त्यो आम्दानीमा झल्किन्छ।’

पछिल्लो समय ओटीटीका विभिन्न प्लाटफर्महरु (मेसेन्जर, भाइबर, ह्वाट्स एप, वीच्याटलगायत) को प्रयोग अत्यधिक बढ्दा टेलिकमको नेटवर्क प्रयोग गरेर भ्वाइस वा मेसेज गर्ने क्रममा निकै घटेको देखिन्छ।

टेलिकमले चालु आव भित्रै फोरजी र मध्यपहाडी लोकमार्गमा सञ्चालित परियोजना सक्ने जनाएको छ। यस्तै, टेलिकमले संस्थाका एकाईहरुको कार्यसम्पादनको अभिलेख राख्ने तथा मूल्यांकन गर्ने प्रक्रियालाई पूर्ण स्वचालित बनाउने योजना अघि बढाएको छ। अधिकृत तहसम्मका कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनलाई स्वचालित र व्यवस्थित गर्ने कार्य चालू आव भित्रै सक्ने योजना सारेको छ।

मोबाइल अपरेटरहरुलाई दुईवटा डोमेनमा प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ। टेलिकमले लाइसेन्स शुल्क (हरेक ५ वर्षमा २० अर्ब रुपैयाँ) र अर्को स्पेक्ट्रम शुल्क (वर्षको ५-६ अर्ब रुपैयाँ) बुझाउने गर्छ।

टेलिकमले मोबाइल सेवाका लागि वार्षिक रुपमा लाइसेन्स, स्पेक्ट्रम र रोयल्टी गरेर १० अर्ब रुपैयाँ भन्दा बढी बुझाउने अधिकारीले बताए। जसका कारण टेलिकमलाई खर्च कटौती निकै चुनौतीपुर्ण हुने गरेको उनको भनाइ छ।

आइएसपीहरुले इमेल/इन्टरनेट सेवा स्वरुप ५ वर्ष अवधिमा दुई लाख ७० हजार रुपैयाँ बुझाउने गरेका छन्। जसका कारण टेलिकम अपरेटरहरु उक्त शुल्क न्यायोचित नभएको भन्दै पुनरावलोन गर्न माग गर्दै आएका छन्।

काठमाडौंमै पनि फोरजी विस्तारमा कठिनाइ भएको छ। भूकम्प पछि भवनको स्ट्रेन्थ घट्ने भन्दै घरबेटीहरुले टावर राख्न नदिएकाले फोरजी विस्तारमा ढिलाइ भइरहेको अधिकारीले बताए।

पछिल्लो समय मोबाइल स्पेक्ट्रमले मानवीय स्वास्थ्यमा हानी पुर्‍याउने गलत बुझाइका कारण घरधनीले टावर राख्न अनुमति दिएपनि छिमेकीहरुले अवरोध खडा गरेको उनले बताए। टेलिकमले काठमाडौंको अधिकांश भागमा घर नभेट्दा टावर विस्तार गर्न सकेको छैन। टावर विस्तार गर्न नपाएकै कारण केही स्थानहरुमा कमजोर टावरको समस्या उपभोक्ताहरुले भोग्नु परेको छ।

देशका केही भागहरुमा स्थानीय जनप्रतिनिधिहरुको आग्रहमा टेलिकमको टावर विस्तार गर्न गएपनि गाउँलेहरुले टावर फाउन्डेसन भत्काउने गरेको बताइएको छ। त्यसैगरी, टेलिकम साविकको मध्यपश्चिमाञ्चलका ४२ स्थानमा टावर राख्नका लागि अनुमतिको पर्खाइमा छ।

वन क्षेत्र, निकुञ्ज, सामुदायिक वनमा टावर राख्न विद्यमान कानूनका कारण राख्न नसकेको अधिकारीले बताए। त्यहाँका उपभोक्ताहरुलाई संचार सेवा स्थापित गर्न टावर आवश्यक भएपनि कानूनी व्यवस्था एवं वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने कारणले समस्या परिरहेको टेलिकमले जनाएको छ।

टेलिकमलाई धेरै क्षेत्रबाट फाइभ-जी प्रविधि आइसक्दा पनि फोरजीमा गरिएको लगानीमा प्रश्न आइरहेको उनले बताए। ‘सुरुमा एनालग प्रविधि थियो पछि डिजिटल आयो। पहिलो टूजी आयो। आठ-दश वर्षमा थ्रीजी आयो। थ्रीजी आएपछि टूजी फेजआउट गर्ने वा अहिले फोरजी प्रयोगमा छ थ्रीजीलाई फेज आउट गर्न नसकिने,’ उनले भने।

यो बजारको डाइमेन्सन र बजारको आवश्यकताले निर्धारण गर्ने उनको तर्क छ।

‘पुराना प्रविधिहरु आठ/दश वर्ष सँगसँगै गएको छ। माइग्रेसन भने रणनीतिक रुपमा गर्नुपर्ने हुन्छ। अहिले हामीले टुजी भ्वाइस र फोरजी डेटा, थ्रीजीले दुवै डेटा र भ्वाइस तर्फ काम गरिरहेको छ। देशको आवश्यकता, मोबाइल फोनको पेनिट्रेसन, पर्चेजिङ पावरअनुसार माइग्रेसन रणनीति तयार गरिन्छ,’ अधिकारीले भने।

टेलिकमले दूरसञ्चार प्राधिकरण र मोबाइल आयातकर्ताहरुलाई सरकारले उपलब्ध गराको फ्रिक्वेन्सीअनुसार भ्वाइस ओभर एलटीई (भीओएलटीई) सपोर्ट गर्ने मोबाइल सेट पठाउन बारम्बार अनुरोध गर्दै आएको छ। भीओएलटीई कम्प्याटिबल स्मार्टफोन मात्रै ग्राहकहरुले प्रयोग गरे टूजी र थ्रीजीलाई फेज आउट गर्दै फोरजीको आम्दानी बढाउने रणनीति टेलिकमको छ।

टेलिकमका अनुसार भदौ २० सम्म भीओएलटीई ग्राहक पाँच लाख ६३ हजार ६२ पुगेको छ। टेलिकमले गत जेठ ३ देखि भीओएलटीई सेवा परीक्षण गरिरहेको छ।

डिजिटल एमपोस, मोबाइल एप वा अन्य स्क्र्याच नगरी गरिने विद्युतीय टपअप (रिचार्ज) अहिले कुल टपअपको ४२ प्रतिशत पुगेको अधिकारीले जानकारी दिए। एक वर्षअघि यो ३२ प्रतिशत हाराहारी रहेको उनले बताए।

टेलिकमलाई डिजिटल डोमेनमा माइग्रेट गराउन कोरोना महामारीको पनि महत्वपुर्ण साथ दिएको बुझाइ उनको छ। विद्युतीय टपअप बढ्दै जाँदा टेलिकमले अहिले रिचार्ज कार्ड उत्पादनमा गरिरहेको खर्च नियन्त्रण हुने देखिन्छ।

टेलिकम र वाणिज्य बैंकको संयुक्त लगानीमा निर्माण भएको नेपाल डिजिटल पेमेन्ट कम्पनी भदौ भित्रै व्यवसायिक संचालन गर्नेगरी परीक्षणलाई अन्तिम चरणमा पुर्‍याएको छ।

टेलिकमको ६२ प्रतिशत (२५ करोड ८८ लाख रुपैयाँ) र वाणिज्य बैंकको ३८ प्रतिशत (१५ करोड ११ लाख रुपैयाँ) लगानीमा नमस्ते पे स्थापना भएको थियो। नमस्ते पे संचालनमा आएपछि वित्तीय सुविधालाई ग्रामीण क्षेत्रमा पनि विस्तार गर्ने तयारी टेलिकमको छ। टेलिकमले साझेदारी गरी स्थापना गरेको फिनटेक कम्पनी नमस्ते पे लगानी विविधिकरणका हिसाबले टेलिकमका लागि नयाँ क्षेत्र हो।

डिजिटल बैंकिङको बढ्दो प्रयोगले ओटीपी, कारोबारको नोटिफिकेसन लगायतका बैंकिङ गतिविधिहरुका कारण टेलिकमको नेटवर्कमा एसएमएसको ट्राफिक बढ्दै गएको छ। यसले पनि टेलिकमको आम्दानीमा सकारात्मक प्रभाव परेको देखिन्छ।

कोरोना महामारीका कारण विभिन्न समयमा लगाइएको लकडाउनका बाबजुद फाइबर इन्टरनेटको नेटवर्क विस्तार टेलिकमको लक्ष्यको १०४ प्रतिशत हासिल गरेको अधिकारीले जानकारी दिए।

टेलिकमले फाइबर इन्टरनेट जडानका लागि ११ लाख ७४ हजार घरधुरीका लागि डिजिटल म्यापिङ (प्लानिङ) कार्य सम्पन्न गरिसकेको जनाएको छ। पाँच लाख ६४ हजार उपभोक्ताहरुका लागि फाइबर इन्टरनेटको नेटवर्क जडानको काम टेलिकमले सकेको छ।

एक लाख ८० हजार ग्राहकहरुका लागि सेवा विस्तरण भइसकेको भन्दै टेलिकमले ५५ जिल्लाका १०८ स्थानीय तहका १३५ स्थानहरुमा सेवाको पहुँच विस्तार भएको टेलिकमको तथ्यांक छ। साथै, फाइबरबाटै टेलिकमले भदौ २० सम्म २५ सय ६८ ग्राहकहरुलाई एनटीटिभी सेवा दिइरहेको जनाएको छ।

टेलिकमले फाइबर नेटवर्क विस्तार गर्दा अव्यवस्थित तार नझुण्ड्याउने दाबी गर्दै अधिकारीले तार विस्तारमा आफुहरुको आफ्नै मापदण्ड रहेको बताए। टेलिकमले चालू आवको प्रमुख लक्ष्यअनुसार स्थानीय टेलिफोन तथा एडीएसएललाई फाइबरमा रुपान्तरण गर्ने योजना अघि सारेको छ। टेलिकमले २०७८/०७९ मा इन्टरनेट सेवालाई थप सर्वसुलभ बनाउने गरी तयारी गरिरहेको अधिकारीले जानकारी दिए।

टेलिकमले ग्राहकहरुलाई वाइफाइ खोज्दै हिँड्ने अवस्थाको अन्त्य गर्ने अधिकारीले दाबी गरे। फिक्स्ड लाइनको वाइफाई (नि:शुल्क समेत) मोबाइल डेटा सस्तो हुने भएकाले उपभोक्ताहरु डेटाबाट इन्टरनेट चलाउन त्यति कम्फर्टेबल मान्दैनन्।

जसका कारण घर वा कार्यालय बाहिर उपभोक्ताहरु वाइफाइको पासवर्ड माग्न हतारिने गरेका छन्। वाइफाईमा आत्मनिर्भर हुनुपर्ने अवस्थालाई चिर्न टेलिकमले प्याकेज निर्माण गर्न गृहकार्य गरिरहेको अधिकारीले जानकारी दिए।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...