नयाँ ब्रोकर लाइसेन्सको लागि आइतबारसम्म ३९ वटा कम्पनीले दिए निवेदन
Monday Oct 17, 2022
वि.सं.२०७९ असोज ३१ सोमवार ०७:५०
काठमाडौं । आइतबार असोज ३० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा ३९ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि निवेदन दिएका छन् । निवेदन दिएका मध्ये ३२ वटा कम्पनीलाई नेप्सेले कारोबार गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा नाम सिफारिस गरेको छ ।
नेप्सेले शुक्रबारसम्म आवेदन दिएका कम्पनीहरुलाई लाइसेन्सको लागि आवेदन दिएको हो । आइतबार मात्रै ७ कम्पनीले नयाँ ब्रोकरको लागि आवेदन दिएका छन् । नयाँ ब्रोकर लाइसेन्सको लागि आवेदन दिने अधिकांश कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँको सीमामा रहेको नेप्सेले जनाएको छ ।
नयाँ ब्रोकर लाइसेन्स ३ किसिमका हुनेछन् । पुँजी संरचनाका आधारमा फरकफरक सेवा प्रदान गर्ने गरी बोर्डले ३ किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । बोर्डले तोकेको पुँजी संरचना अनुसार सीमित दायराको पहिलो तहको ब्रोकरका लागि २० करोड रुपैयाँ निर्धारण गरेको छ ।
यसले सेयर खरीदबिक्री गर्नेसँगै डीपीको रुपमा काम गर्ने पाउँनेछ । त्यस्तै, मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्तापुँजी ६० रुपैयाँ करोड र तेस्रो तह स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी हुनुपर्नेछ ।




























