आज रातिदेखि उपराष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार निषेध
Tuesday Mar 14, 2023
वि.सं.२०७९ फागुन ३० मंगलवार १८:०५
काठमाडौं । आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुँदैछ । निर्वाचन आयोगले मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू भएको जनाएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचन आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने जनाइएको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ ।
त्यसतै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत÷हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ ।
निर्वाचनका लागि एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य (बोहरा), र जसपाबाट प्रमिला कुमारी, जसपाकै रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन्। प्रमिला कुमारीले भने आफ्नो समर्थन यादवलाई रहने घोषणा गरेकी छिन् ।






















