पीएनजीविरुद्ध नेपालको किर्तिमानी जित
Wednesday Mar 15, 2023
वि.सं.२०७९ चैत १ बुधवार १७:०७
काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले कीर्तिमानी जित निकालेको छ ।
आज सोमबाट भएको खेलमा पीएनजीलाई ९ विकेटले हराउँदै नेपालले किर्तिमानी जित निकालेको हो । किर्तिपुरस्थित क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षति भेट्टायो। आशिफ शेख ५३ र कुशल मल्ल १२ रनमा नटआउट रहे ।
आशिफले २१ बलमा ८ चौका र ३ छक्का हाने। कुशलले १३ बलमा १ चौका र १ छक्का हान्दै नटआउट रहे। कुशलले आठौं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै नेपाललाई किर्तिमानी जित दिलाएका हुन् ।
ओपनर कुशल भुर्तेल र आशिफ शेखले ५१ रनको साझेदारी गर्दै नेपाललाई आक्रामक सुरुवात गरेका थिए। कुशल भुर्तेल ३३ रन बनाउँदा एलबीडब्लु धरापमा परे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पिएनजी.३२ ओभरमा ९५ रन बनाउँदा अलआउट भयो।
नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए। ललित राजवंशीले र कुशल मल्लले दुदुई विकेट झारे। सोमपाल कामीको नाममा एक विकेट रह्यो।






















