ढाकाको अडिओपछि रविको घोषणा ७० घण्टा भित्रै कारवाही कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला
Sunday Apr 09, 2023
वि.सं.२०७९ चैत २६ आइतवार १९:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, पार्टीका सांसद डा। ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर ७० घण्टा भित्र कारबाही गर्न नसके गढीमाईमा बलि चढ्ने घोषणा गरेका छन् ।
बारा २ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले, ‘मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो । अब ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला ।’
उनले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि भ्रष्टाचारको विषयमा आफूहरुको भनाइ र गराइ एउटै हुने बताए ।
‘ तपाईंहरुलाई स्पष्ट पार्न चाहन्छु भ्रष्टाचारको विषयमा हाम्रो भनाइ, गराइ र कुरा सधैं एउटै हुन्छ । अडियो सार्वजनिक हुनेवित्तिकै मैले पार्टी पंक्तिमा निर्देशन दिइसकेको छु । ७२ घण्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउनू भनेर अल्टिमेटम दिएको छु।’ उनले भने ।
देशमा भ्रष्टाचारका काण्ड ७२ वर्षदेखि अल्झिएर बसे पनि आफ्नो पार्टीभित्र प्रश्न उठेपछि ७२ घण्टामै निराकरण हुने लामिछानेको दाबी छ ।
उनले अडिओमा सुनेको वरिपरिको मान्छेलाई पनि छानबिन गरेर कारबाही गर्ने बताए । उनले नजिकका मान्छेलाई समेत लछारेर आम नागरिक समक्ष ल्याउने बताए ।
आफ्नो सांसदले भ्रष्टाचारको डिल गरेको प्रमाणित भए अख्तियारमा आफैं पत्र लिएर जाने उनको भनाई छ ।























