प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रह : सञ्चार क्षेत्रलाई मर्यादित जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणलीको विकास गर्नुहोस
Wednesday May 03, 2023
वि.सं.२०८० वैशाख २० बुधवार १०:५८
काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिदै संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण व्यवस्था गरेकाले त्यसको व्यवहारिक कार्यान्वयन गराउन सञ्चार क्षेत्रको लागि आवश्यक नीतिगत,कानुनी एवं पुर्नःसंरचनागत सुधारकाको लागि ध्यान दिएको बताएका छन् ।
बुधवार प्रधानमन्त्री प्रचण्डले एक शुभकामना सन्देश जारी गर्दै नेपालको संविधानको मूल मर्म र भावना एवम् संघीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको नीतिगत,कानूनी र व्यवहारिक पक्षमा पुनःसंरचना गर्नुपर्ने प्रमुख आवश्यकता भएको उल्लेख गरेका हुन् ।
उनले सरकारले सञ्चार क्षेत्रको विकासका लागि श्रमजीवी प्रत्रकार ऐनको पूर्ण कार्यान्वयनको पहल भैरहेको तथा पत्रकारको क्षमता र दक्षता वृद्धि र विकासका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापनाको पहल गरिरहेको भन्दै सञ्चार क्षेत्रले पनि आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्ने आग्रह गरे ।
‘‘श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, सञ्चारमाध्यमको नियमनका लागि आमसञ्चार प्राधिकरण जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनःसंरचना, सञ्चारमाध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता, विज्ञापन बोर्डमार्फत् सरकारी विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाहभत्ताको व्यवस्था एवं एकीकृत आमसञ्चार विकास कोषको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी गराउँदछु ।’’ जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा नभएर समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय भएको बताएका उनले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसले खेलेको महत्वपूर्ण भूमिकालाई सरकारले बुझेको उल्लेख गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवस मे तीनमा विश्वभर मनाईंदै आएको छ । नेपालमा पनि प्रत्रकारका आमसञ्चार क्षेत्र तथा पत्रकारका हक हितका लागि काम गर्ने संघ संस्थाले विभिन्न कार्यक्रम गरि मनाउँदै छन् । बुधवार नेपाल पत्रकार महासंघले बिहानै प्रभातफेरी निकालेको छ ।
























