वायु प्रदूषणको असर : देश बदनाम, अधिकांश जनताको स्वास्थ्यमा गम्भीर समस्या
Friday May 05, 2023
वि.सं.२०८० वैशाख २२ शुक्रवार १७:०५
(रितिका सेडाई /नेपाल न्यूज बैंक)
काठमाडौ । कचौरा आकारको काठमाडौं यस बर्ष पनि प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा आयो । हरेक बर्ष काठमाडौंले विश्वभर यो बदनामी भोग्दै आएको छ । तर यो भन्दा डरलाग्दो पक्ष भनेको प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असर हो । काठमाडौं उपत्यकावासी प्रदूषणको मारमा पर्दा उनीहरुले श्वासप्रश्वास सम्बन्धि गम्भीर समस्या भोग्दै आएका छन् भने प्रदूषणबाट सिर्जित स्वास्थ्य समस्याकै कारण मृत्यु हुनेको दर बढ्दो छ ।
समग्र देशभर र काठमाडौं उपत्यकामा वायु प्रदूषणको चपेटमा लपेटिदो छ । यही बढ्दो वायु प्रदूषणको कारण मानव शरीरमा विभिन्न किसिमका रोगहरु लाग्ने तथा अकालमै ग्यान गुमाउनको संख्या बढ्दो छ । तथ्याङक अनुसार काठमाडौं एसियाकै सर्वाधिक प्रदूषित शहरमा परेको छ । वायु प्रदूषणले अहिले विशेष गरेर स्वासप्रस्वास गम्भीर असर गर्दा यस्को प्रत्यक्ष मारमा नेपाली जनता पर्दै आएका छन् । नेपालमा वायु प्रदूषण सिर्जित स्वास्थ्य समस्याका कारण प्रत्येक बर्ष ४२ हजार बढी नेपालीले ज्यान गुमाउँदै आएका छन् भने काठमाडौं उपत्यकामा हरेक बर्ष ५ हजारले बढीले ज्यान गुमाउने गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारी अनुसार ‘वायु प्रदूषणको स्तर काठमाडौंसहित देशभर विग्रदै गएको छ । पछिल्लो समयको तथ्यांकको आधारमा हेर्दा अहिले पानी पर्न थाले पछि चाहीँ प्रदूषण कम भएको देखिन्छ । तर विगतका बर्षहरुको तुलनामा चाहीँ प्रदूषण बढ्दै गएको देखिन्छ । यो काठमाडौं उपत्यकामा मात्र नभई वायु प्रदूषणको मात्रा नेपालमा नै बढ्दै गएको छ । हामीले प्रदूषण के गरी कम गर्ने तथा बच्ने भन्ने तर्फ लाग्नु पर्छ । र दीर्घकालीन समयसम्मको लागि प्रदूषणलाई कम गर्न तर्फ लाग्नु पर्छ । समग्र रुपमा हेर्दा काठमाडौंको अवस्था प्रदूषित वायु एकदमै बढेर गएको छ । पछिल्लो समय पानी नपरेर वनमा डढेलो लाग्नु, धेरै फोहोरहरु जलाइनु, सवारी साधनहरुको बढी प्रयोग हुनाले वायु प्रदूषण बढेको हो । र वायु प्रदूषण बढ्नुको मुख्य कारण नै मानवीय व्यवहार हो । प्रदूषण यही कारणले बढ्यो भन्न सकिन्न किनभने यो कुनै एक कारणले नभई विभिन्न कारणले बढ्ने गदर्छ । ’
वायु प्रदूषण बढ्नुको कारण
- सवारी साधनहरुको बढी प्रयोग गर्नाले
- वनहरुमा आगलागी तथा डढेलो लाग्नाले
- बढी मात्रामा उद्योग, कलकारखानाहरु खोल्नाले
- प्लाष्टिकहरु बढी मात्रामा जलाउनाले
- रुख विरुवा मासिदै जानु, नयाँ वृक्षरोपण नहुनाले
- समयमा पानी नपर्नाले आदि
यसलाई कम गर्न के गर्ने ? - उद्योगमा नवीकरणीय उर्जाहरुको प्रयोग गर्ने
- सवारी साधनहरु प्रयोग गर्दा निजी तथा कमरुपमा प्रयोग गर्ने
- इन्धनयुक्त सवारी साधनको सट्टा साइकल प्रयोग गर्ने
- घरमा ग्यासको सट्टा विद्युतीय चुलो तथा सोलारको प्रयोग गर्ने
- फोहोर जलाउन पूर्ण रुपमा बन्द गर्ने आदि
सहायक प्रवक्ता अधिकारी भन्छन् ; वायु प्रदूषणले मानवलाई मात्र नभई सम्पूर्ण प्राणी तथा बोटविरुवालाई पनि असर गदर्छ । जसको कारण बोटटविरुवा पनि फक्रन पाउँदैन । पानी पर्ने कुरामा पनि यसले असर गरिरहेको हुन्छ । यसले सम्पूर्ण कुराहरुमा असर गर्दछ । अहिले केही समयको लागि पानीले फोहोर तथा प्रदूषण बढारेको छ तर हामीले यसै गरी वातावरण प्रदूषण गर्ने इन्धनहरुको प्रयोग गरि राख्यौं भने फेरी त्यही प्रदूषण उत्पन्न हुन्छ । हामीले प्रयोग गर्ने सवारी साधन तथा प्रदूषण उत्सर्जन गर्ने साधनको प्रयोगमा कम गरेनौं भने प्रदूषण नियन्त्रण मुश्किल पर्छ । ’
वातावरण प्रदूषणका कारण हुने समस्याहरु - आखाँ पोल्ने
- छाला चिलाउने
- स्वाशप्रस्वाशमा समस्या हुने
- फोक्सोको काम गर्ने क्षमता कम हुने
- स्नायु प्रणालीमा असर गर्ने
- मुटु लगायत शरीरका अन्य अङगहरुमा असर गर्ने
- शारिरीक वृद्धि विकासमा असर गर्ने
- मानसिक वुद्धि विकासमा असर गर्ने तथा क्यान्सर जस्ता खतरनाक रोगहरु लाग्ने हुन्छ ।
सहायक प्रवक्ता अधिकारी भन्छन् ; वायु प्रदूषणले तत्कालीनदेखि दीर्घकालीन समयसम्म असर गदर्छ । वायु प्रदूषण न्यूनीकरण गर्नको लागि मानवीय व्यवहार नै सबै भन्दा ठूलो कुरा हो । कुनै एक व्यक्तिले, संस्थाले मात्र कोशिस गरेर वायु प्रदूषण कम हुदैन । यसका लागि सबै एक जुट भएर मिलेर गयौं भने वायु प्रदूषण कम हुन्छ । प्रत्येक घरमा ग्यासका चुलो प्रयोग नगर्ने तथा गर्नै परेमा पनि कम मात्रामा तथा इलेक्ट्रीक वा सोलारको प्रयोग गर्ने गर्दा उचित हुन्छ । सबैले आआफ्ना घर वरिपरि रुख लगाउने गर्नुपर्छ । सवारी साधन पनि कम मात्रामा प्रयोग गर्ने तथा साईकलहरु बढी मात्रामा प्रयोग गर्ने । अर्को महत्वपूर्ण कुरा चाहीँ फोहोर जलाउन कम तथा बन्द गर्नु पर्छ, डढेलो लाग्न नदिने तर्फ सचेत हुनु पर्छ । स्वास्थ्य मन्त्रालयले पनि वायु प्रदूषण नियन्त्रणको लागि विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
जलवायु परिवर्तनको गम्भीर चपेटामा परेको नेपालमा बढ्दो वायु प्रदूषणले विकराल समस्या निम्याउँदैछ । यसतर्फ सरकारदेखि सरोकारवाला निकाय र आम जनता सजग हुनुपर्ने अवस्था आएको छ ।
























