साना लगानीका मिडियालाई बचाउनेतिर सरकारले ध्यान दिओस् : सम्पादक बोहोरा

वि.सं.२०८० भदौ ३१ आइतवार २२:४०

काठमाडौं, । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य तथा अर्थ सवाल साप्ताहिकका सम्पादक रमेश कुमार बोहोराले साना लगानीमा सञ्चालित मिडियालाई बचाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)का सचिव तथा बागलुङबाट निर्वाचित प्रतिनिधिसभाका सांसदसमेत रहेका पूर्वमन्त्री देवेन्द्र पौडेलले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा रमेश कुमार बोहोराले पछिल्लो समयमा साना लगानीका मिडिया जीवन मरणको अवस्थामा रहेको बताए ।
‘साना मिडिया भन्दिन म, मिडिया कुनै पनि सानो र ठूलो हुँदैन, लगानीमात्र सानो हुने हो, यी मिडियालाई समस्या छ, कुन दिन बन्द गर्नुपर्ने हो थाहा छैन कति पत्रपत्रिका हरु बन्द भइसकेका छन् ।
त्यसैले सरकारले यसतर्फ ध्यान दिओस्’ सरकारको नेतृत्व गरेको पार्टीका नेता पौडेललाई बोहोराले भने ‘मिडियाले हरेक समयमा सरकारलाई सहयोग गरिरहेको छ, राम्रा कामको चर्चा गरेका छौं तर मिडिया नै बन्द हुने अवस्था आउनु दुःखद् पाटो हो ।’ रमेश कुमार बोहोराले सरकारले मिडियालाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने पनि बताए ।
उनले मिडियामा समाचार नआएपछि सरकारले, मन्त्री र सांसदले जतिसुकै राम्रो काम गरे पनि अर्थ नहुने भन्दै मिडियामा भएका समस्याको बारेमा सांसदले समेत संसदमा आवाज उठाउनुपर्नेमा जोड दिए ।
उनले मिडियालाई व्यवस्थित गर्ने नाममा खोलिएका कतिपय संस्थाले पत्रकारलाई झन् संकटमा पारेको भन्दै त्यसको खारेजीको समेत माग गरे । उनले विज्ञापन बोर्डले पत्रिकाका लागि दिँदै आएको रकममा ३ प्रतिशत कटौती गरेकोमा समेत आपत्ति जनाएका छन् ।
बोहोराले लोककल्याणकारी विज्ञापनको रकम १०० प्रतिशत वृद्धि गर्न , सञ्चारकर्मीहरुले खरिद गर्ने सञ्चार सामाग्रीहरुमा अनुदान उपलब्ध गराईदिनुहुनका साथै सञ्चारगृहरुका लागि सवारी साधन खरिद प्रक्रियामा कर तथा भन्सार छुटका लागि नीतिगत पहल गर्न , पत्रकारलाई निःशुल्क उपचार गर्ने सम्वन्धमा भएको अघिल्लो सरकारको घोषणा र नीतिबारे कोही पत्रकार वञ्चित नहुने गरी कार्यविधि तत्काल बनाई कार्यान्वयनमा गर्न , अर्थ मन्त्रालयले बजेट विनियोजन गरिसकेको अवस्थामा अनलाइन सञ्चारमाध्यमको समेत मापदण्ड बनाई लोककल्याणकारी विज्ञापनको लागि तत्काल कार्यविधि बनाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था गर्न , जेष्ठ पत्रकारहरुका लागि सुरु गरिएको जीवनवृति भत्ताको स्वागत गर्दै ५० ( पचास ) वर्ष उमेर पुगेका वा ३० वर्ष भन्दा बढी समय निरन्तर पत्रकारिता गरिसकेका जेष्ठ तथा अग्रज सञ्चारकर्मीहरुलाई मासिक रुपमा जीवन निर्वाह भत्ताको व्यवस्था गर्न , समावेसी संचार नीति अन्तरगत महिला,आदिवासी, जनजाती,मधेसी ,दलित, अपाङ्ग, सिमान्तकृत लगायत पिछडिएका समुदायको संचारमा पहुँच स्थापना गर्न आवश्यक नीति कार्यान्वयन गर्न र साना लगानीका पत्रपत्रिका को लागि कम्तिमा पच्चीस लाख रुपैया सहुलियत मा रिन दिने व्यवस्था गर्न बोहोराले सुझाव दिएका छन् ।
कार्यक्रममा पत्रकारहरुले सरकार, पार्टी, पार्टीको ३ महिने रुपान्तरण अभियानलगायतका विषयमा धारणा राखेका थिए ।
नेता पौडेलले पत्रकारका सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको र सम्बन्धित ठाउँमा राख्ने पनि बताएका थिए । नेता पौडेलले पछिल्लो समयमा पत्रकारसँग निरन्तर अन्तरक्रिया गर्दै आएका छन् ।