CG Electronics
IME Life
Ncell NPL

‘राजनीतिमा नपसेको भए देश नै नबुझिने रहेछ’

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर नयाँ पुस्ताकी राजनीतिकर्मी हुन् । परम्परागत दल र संघसंगठनमा लागेर राजजनीतिको क्षेत्रमा आएकाहरु भन्दा उनको दिनचर्या भिन्न छ । उनलाई समाजसेवाको क्षेत्रमा निरन्तर क्रियाशील रहँदा राजनीतिमा आउने बाटो खुलेको हो । अहिले पनि उनी समाजसेवाको क्षेत्रमा क्रियाशील छिन् । संसदमा उपसभामुखको जिम्मेवारीमा रहेकाले उनलाई दलगत प्रचार र संगठन गरेर हिँड्नुपरेको छैन । फरक भूमिका भएकाले उनी संसद्सँगै सामाजिक सेवामा आफ्नो रुचिको क्षेत्रलाई समय दिइरहेकी छन् । राजनीति र समाज सेवाको क्षेत्रका सेरोफेरोमा उनीसँगको नेपाल न्युज बैंकले गरेको अन्र्तवार्ताको सम्पादित अंश–

उपसभामुखको राजनीतिक जीवनको दैनिकी कस्तो छ ? आफ्नो एक दिन कसरी बिताउनुहुन्छ ?

दैनिकी भन्नुपर्दा समाजसेवी हुँदादेखिकै आफ्नो दिनचर्यलाई निरन्तरता दिइराखेकै छु । पहिले पनि आफ्ना बच्चाहरुलाई खाना बनाउने गर्थेँ, अहिले पनि स्टाफले सहयोग गर्नुहुन्छ, मैले आफैं खाना बनाएर बच्चाहरुलाई खुवाउनु पर्छ । अहिले बेलुका आएपछि समाचार हेर्छु । पहिला त्यति साह्रो समाचार हेर्दिन थिए, बरु क्रिमिनल जस्टिजको बारेमा धेरै हेर्थें, अहिले त्यो फेरिएको छ । बेलुका सबैखाले समाचार हेर्छु, अलिकति संविधान र नियमावलीका कुराहरु हेर्छु । अहिले सदन नचलेकाले बच्चाहरुलाई समय दिन पाइरहेको छु, बाँकी समय बाहिरतिरको धेरै कार्यक्रमहरुमा उद्यमीदेखि समाजसेवीलगायत विभिन्न क्षेत्रका मानिसहरुले बोलाइरहेका हुन्छन्, जान्छु । प्रायजसो म जनताको नजिक पुगिरहेको हुन्छु । त्यहाँ जनतालाई संविधान पढ्न र कार्यान्वयन भए नभएको पक्षमा सजग गराउन चेतना दिने काम गरिहेको छु ।

तपार्इंको आफ्नो समाज सेवाको क्षेत्र एकातिर छ, बालबालिकाका लागि भात भान्सा र हेररचाह गरिरहनुभएको छ, अर्कातिर ठूलो जननिर्वाचित संस्थाको उपसभामुख हुनुहुन्छ । यी दुई भूमिका निर्वाह गर्न समन्वय कसरी गर्नुहुन्छ ?

हामीले जुन भान्साको काम गछौं, खाना, स्वास्थ्यको कुरा गर्छौ, यो राज्य पनि त्यही कुरामा अडिएको छ । राज्यले पनि वास्तवमा त्यसमा ध्यान दिनुपर्ने हो जस्तो लाग्छ । एकले अर्काको खुट्टा तान्ने भन्दा पनि राज्यमा सबै मिलेर कसरी पकाएर खाना खाने भन्ने भाव सबैमा हुनुप¥यो । जीवनमा हामीलाई जे चाहिन्छ, राज्यले मानिसलाई आवश्यक पर्ने स्वास्थ्यदेखि हरेक कुरा सहज रुपमा दिन सक्नुपर्छ । सबै मिलेर विकास गर्नुपर्छ ।

कसैले टावर वा ठूलो बिल्डिङ बन्नुलाई विकास भन्दा म एउटा बच्चालाई कस्तो संस्कार दिने, कसरी उसको शारीरिक, मानसिक र बौद्धिक विकास गर्ने, उसलाई कस्तो माया र केयर दिएर उसलाई पोषण दिएर पूर्ण मानिस बनाउने कामलाई विकास भन्छु । जो मैले बालबालिकालाई गरिरहेको छु, मैले आफ्नो पूरा जीवन त्यसरी नै सामाजिक क्षेत्रमा बिताएको छु । अहिले राजनीतिमा आएर पनि मैले हरेक क्षेत्रका नागरिकलाई बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई उहाँहरुको सामाजिक सुरक्षाको कुरादेखि लिएर विभिन्न आवश्यकताको बारेमा चेतनाका सवाल र आवाज उठाउँदै आएको छु ।

एउटा खराब भनेर जेलमा पुगेको युवा पनि त्यो पूरा रुपमा खराब नै भएर भन्दा आवश्यकता र वातावरणका कारण जेलसम्म पुगेको हुनसक्छ, उसलाई सामाजिक रुपमा असल मान्छे बनाउन सकिन्छ भन्ने धारणा राख्छु । सबैले खराबलाई पनि असल मानिस बन्नमा प्रेरित गरिरहनुपर्छ, उसलाई कसरी सही बनाएर समाजमा भित्र्याउने भन्नेमा सोच्नुपर्छ । यसरी नै सामाजिक र राजनीतिक पक्षलाई उही समाजसँगको विषयसँग जोडेर समन्वय गरिहेको छु । दुवै सेवाका क्षेत्र हुन् ।लामो समयबाट मानवसेवालई तपाईंले प्राथमिकता दिएर काम गर्दै आउनुभएको छ ।

 

धेरैले तपाईंकै कारण उद्धार भएर पुनः समाजमा राम्रो जीवन विताइरहेका छन् । तपाईंले गरेको समाजसेवाको अनुभवलाई राजनीतिक जीवनमा रुपान्तरण गर्ने प्रयास गर्नुभएको छ ?

तपाईंको प्रश्नको इमान्दार जवाफ दिने हो भने राजनीतिभित्र नपसीकन केही पनि कुरा थाहा हुँदैन । भित्र पसिसकेपछि धेरै कुरामा परिमार्जन गर्नुपर्ने देखँे । बनेकै सिस्टमको पनि राम्रोसँग कार्यान्वयन भएका छैनन्, त्यसैमा पनि एब्युज भएको छ ।

 

यी कुरालाई कसरी चिरेर लाने, भ्रष्टाचार, विभेदलाई कसरी चिरेर लाने ? यहाँ आएर मैले धेरै कुरा जानेँ । यदि राजनीतिमा नपसेको भए मैले केही पनि नजानी र देशलाई नै नबुझी मर्ने रहेछु जस्तो लाग्छ । तर, राजनीतिमा धेरै सुधार हुनुपर्छ । प्रशासनदेखि लिएर प्रहरीसम्म सबैमा सुधारको आवश्यकता छ । हरेक ठाउँमा पीडा, तनाव छ, मानिसहरु पीडित छन् । सबैलाई हामीले सुधारेर लाने र सबैलाई राम्रो वातावरण दिने हो भने हाम्रो देश सुध्रिन धेरै समय लाग्दैन । त्यसका लागि तलबाटै गु्रमिङ गर्दै लानुपर्छ । तर, यहाँ जसको पावर र हालीमुहाली छ उहाँहरुले नै त्यसको दुरुपयोग गरिहेका छन् भन्ने लाग्छ मलाइ ।

पावरमा हुनेले शक्तिको दुरुपयोग गरे भन्नुभयो, तपाईंले त्यो देख्नुभएको छ ?

किन नदेख्नु भनेर साध्य छै्रन । म इमान्दारीसँग कुरा राख्छु, भोलि पनि मैले यो कुरा बोल्नुपर्ने हुन्छ । शक्तिको दुरुपयोग धेरै भएका छन् । तर, सबै मान्छे नराम्रा छै्रनन् । राम्रा राजनीतिज्ञहरु पनि हुनुहुन्छ । सिस्टम नै बिग्रिएकाले गाह्रो भइरहेको छ । तीन करोड नेपाली पनि छैनौ हामी, त्यसमा पनि सबै देशमा छैनन् । बाहिरतिर हेर्नुहोस् त सबै सिस्टमले चल्छ । तर, हामीले आफ्नो यो तीन करोड पनि नपुगेको नेपालीलाई पनि समेटेर लान नसक्ने कस्तो नेतृत्व हो यो भन्छु म ।

तपाईंले राजनीतिक नेतृत्व र अंगभित्रै पनि द्वैध भूमिका छ भन्नुभएको हो ?
त्यो अवश्य पनि छ । पावरको मात्रै खेलजस्तो लाग्यो । यो राजनीति भनेको कतिखेर पल्टिन्छ भन्ने थाहा नहुने रहेछ । मलाइ कतिपयले तपाईं कच्चा खेलाडी भन्नुहुन्थ्यो, म कच्चा होइन इमान्दारको डाइरेक्ट खेलाडी हो । म इमान्दारीसँग आफ्नो भूमिका निर्वाह गर्न सक्छु भन्ने दृढ आँट छ र म निडर पनि छु । हिजो मलाई राजनीति मन पदैन थियो ।

 

राजनीतिमा आइसकेपछि पनि किन आँए जस्तो लाग्थ्यो । अहिले बुझ्दै जाँदा हामीजस्तो जसले देशको ग्राउन्डलाई बुझेको छ, पीडालाई बुझेको छ, त्यस्तो मान्छेहरु राजनीतिमा चाहिने रहेछ भन्ने लाग्छ । म हरेक युवालाई विभिन्न क्षेत्रमा गएर सबैलाई राजनीति बुझ्नुपर्छ भनेर प्रेरित पनि गर्ने गर्छु ।

राजनीति अरु अरु विषयमा अल्मिलिएको छ, ग्राउन्ड रियालिटीमा फोकस भएन । मानिसका आधारभूत आवश्यकता पूरा गर्ने सवालमा समेत हामी कमजोर भयौं भन्ने जुन कुरा गर्नुभयो, संसदले ती आवश्यकताहरु पूरा गर्नलाई आवश्यक कानुन निर्माण गर्न किन प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको होला ?

यहाँ चाहिँ आफ्नै राजनीतिक पार्टीका मान्छेलाई मात्रै संरक्षण गरिँदो रहेछ । त्यसमा पनि गुटबन्दी हुँदो रहेछ । अनि जहिले पनि आफ्नो राजनीतिक स्टन्ट देखाउनु मात्रै छ ।

राजनीतिक स्टन्ट देखाएर संसदको सदस्य भएर आइसकेपछि त जनताको लागि काम गर्ने हो नि त । त्यहाँ जनताको आवाज र उनीहरुले उठाएका सवाललाई उजागर गर्ने भन्दा पनि नेताको कुरा सुन्ने, सदनबाट अरुलाई गाली गरेर समय बिताइरहेको हुन्छ, संसदमा मन नपरेको पक्ष मलाई यही हो । सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्डदेखि लिएर विभिन्न काण्डहरु आए । त्यो कुरामा लाग्न राज्यले बनाएको संयन्त्र छ, यसमा संसदभित्र निर्णयमा पुग्नेगरि छलफल हुनुप¥यो नि, त्यो गर्नु छैन ।

समिति बनायो, बुद्धिजिवी राख्यो त्यो पनि वास्तविक विषयको ज्ञाताभन्दा हामीले रिक्त ठाउँ आफ्ना मान्छेले भर्ने काम बाहेक केही गरेकै छैनौं । सिस्टम बनाएपछि त्यसअनुसार सबै चल्नुप¥यो नि । एउटा मान्छेको अधिकार र रिमोटबाट सबै चलेका छन्, त्यसरी हुँदैन । संघीयतामा तलसम्म अधिकार दिएर उहीँबाट सबैलाई बलियो बनाएर ल्याउनुपर्छ । केन्द्रमै भर पर्नुपर्ने अवस्थालाई चिर्नुपर्छ । राष्ट्रिय राजनीति नै अलमलमा छ । संविधान बनायौं कतिपय कुराहरु अझै कार्यान्वयन भएका छैनन् ।

जस्तो– महिलालाई संविधानको धारा ३८ ले दिएको अधिकारहरुमा कुन चाहिँ कार्यान्वयन भएको छ ?

तपाइँ समाज र समाजका आवश्यकतालाई अलि नजिकबाट बुझेर राजनीतिमा आउनुभएको छ । आज सामाजिक क्षेत्रदेखि राजनीतिसम्ममा अलमल मात्रै देखिन्छ, यो राष्ट्रिय अलमलको कारण के हो जस्तो लाग्छ ?

मैले बुझ्दा नेताज्युहरु अगाडि मिठा कुरा गर्नुहुन्छ तर, पछाडि अर्कै भइरहेको हुन्छ । देशमा सकारात्मक संस्कारको विकास गर्नुपर्ने देखिन्छ । देशमा आवश्यकता पनि त्यही कुराको छ । हामी सबै नेपाली हौं, एक छौं भन्ने हुनुप¥यो । म त्यसको लागि ठूलो पदमै पुग्नुपर्छ भन्ने छैन, आफूले सक्ने त गर्नुप¥यो नि । कोही नेता राम्रा पनि छन्, विज्ञ पनि तर, सत्ता थामिरहन त गाह्रो छ । सबै पार्टीका अलि बुझेका र जानेकाहरु देश विकास गर्न भन्दा खेलमा बढी समय बिताउनुभयो उहाँहरुले । जनताको आवश्यकतालाई बुझ्नेतिर भन्दा सत्ताको खेलमा बढी समय बिताएको जस्तो लाग्यो मलाइ ।

अब नयाँ नयाँ पनि आएका छन् । त्यसमा कति राम्रा छन् भने कति पुराना पार्टीमा पद नपाएर विरक्तिएर आएका छन् । मलाइ नि कतिले तपाईं केही नगरी यति ठूलो पदमा पुग्नुभयो भन्छन् । पुगेर के गर्ने म काम गर्न चाहने मान्छे, काम गर्न पनि नदिँदो रैछन्, कस्तो दुःखलाग्दो कुरो । जुन स्पिडमा म काम गर्न चाहन्छु त्यो चाहेर पनि पाएको छैन । एउटा होटल सञ्चालन गर्न त विहानै म्यानेजरले ब्रिफिङ गर्छ, दिनभरी कसरी कति काम गर्ने भनेर यहाँ त खै एउटा एकतिर फर्केको छ अर्को अर्कातिर फर्केका छन् !

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एकदमै संगठित हुनुपर्छ । चाहे जुनसुकै पार्टीका हुन् काम गर्ने सन्दर्भमा सबै एकै ठाउँमा बसेर काम गर्नुपर्छ, उहाँहरुले पदमा बसिसकेपछि पदको पदाधिकारी हुन् । मिलेर अरुका लागि पनि उदाहरण बन्नेगरि काम गर्ने हो नि त । कार्यपालिका र न्यायपालिका यस्तो राम्रो भन्ने होस न ।

व्यवस्थापिकामा पनि थाति विधेयकलाई टुंग्याउन दिनरात लाग्नुप¥यो । सबै लागेर छलफलमा ल्याउनुप¥यो, सबै लाग्नुप¥यो । हामी सुतेर घाम तापेर बस्ने बेला छैन भन्छु म । कार्यपालिकाको त जिम्मेवारी नै झन् ठूलो छ । हरेक ठाउँमा विजोग छ । स्वास्थ्य, शिक्षा, कृषि वन सबै बिग्रेको छ । हरेक संस्था र त्यसका जिम्मेवारी लिएका मान्छे बलियो भएर जबसम्म आफ्ना जिम्मेवारी पूरा गर्दैनन् तबसम्म देश बन्दैन ।

जहाँतहीँ बिजोग छ भन्नुभयो कतिपय कुराहरु कानुन बन्न नसक्दा झन् असरल्ल छन् । यस्तो समयमा हिउँदे अधिवेशन बोलाउन ढिला भयो जस्तो लाग्दैन ?

अधिवेशन माघको तेस्रो हप्तामा बोलाउने कुरा छ । पोहोर यो समयमा अधिवेशन चलिसकेको थियो । ढिलो त भएको हो नि । यसपालि किन ढिला भयो त्यो थाहा छैन् । तर, पनि पहिलेकै बाह्र वटा थियो अहिले एउटा थप भएको छ भन्ने सुनेको छु, तेह्र वटा विधेयक विचाराधीन छन् ।
अधिवेशन ढिलोगरि बोलाउँदा संसदलाई नै महत्व नदिएको हो कि भन्ने सन्देश आम मानिसमा गएको छ नि ?

भन्न मिल्ने नमिल्ने थाहा छैन्, म इमान्दार भन्छु, सबै कुरा पर्खाइ रहेछ । मैले हेर्दा पर्खाइ रहेछ के । सरकार कतिबेला ढल्ला र अर्को आउला, अनि मेरो पावर होला जस्तो के, पावर गेम जस्तो देखिराको छु । घुम्ने मेचमा जस्तै हो । कतिपय कुराहरु अहिले निणर्य गर्दा अर्को पार्टीलाई असर पर्ला कि भन्ने खालको अलमल जस्तो मलाइ लागिरहेको छ । म आफू राजनीति बुझ्ने पनि भन्दिन, आफूलाई जति मैले बुझे त्यस्तै लाग्छ ।

संसद्लाई प्रभावकारी बनाउन तपाईंको आफ्नो भूमिका के हुन्छ ? सिंगो संसदलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ?

सबै कुरा एकअर्कामा अन्तरनिहित र अन्तरसम्बन्धित हुन्छ । अब अहिले यो अधिवेशन बोलाउनलाई पनि त कार्यपालिकाले चासो राख्नु प¥यो, अनि राष्ट्रपतिले अधिवेशन बोलाउनु प¥यो । यो त सभामुखज्यु र मैले मात्रै सोचेर बोलाउने कुरा भएन । विशेष हात यहाँ कार्यपालिकाकै छ, अब हामीले अधिवेशन बोलाइपछि संसद चलाउने हो । हामी रेडी छौं । देशमा यत्रो इस्युहरु आए त्यसमा सवाल उठिराखेका छन् । चाँडो सदन चल्दा ती कुराले निकास पाउँथे कि भन्ने अपेक्षा छ ।

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:०६

  काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती...

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल,...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:०८

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका...

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक जना मानिस घाइते

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:००

  सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले...

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:५६

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स...

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा रहेको जोखिमपूर्ण बस्ती

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:५२

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरीगाउँ...

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी प्रहरीको नियन्त्रणमा

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:४५

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट...