एनसेल उत्कृष्ट करदाताका रूपमा सम्मानित
Tuesday Dec 17, 2024
वि.सं.२०८१ पुस २ मंगलवार २३:३९
काठमाडौँ । गत आर्थिक वर्षमा संस्थागततर्फ सबैभन्दा बढी कर तिरेकोमा दूरसञ्चार सेवा प्रदायक एनसेल सम्मानित भएको छ । ललितपुर महानगरपालिकाले मंगलबार एनसेलललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको थियो ।
ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई सम्मानपत्र प्रदान गरेका थिए ।
सबैभन्दा बढी कर तिरेर ललितपुर महानगरपालिकाको विकास र समृद्धिमा योगदान पुर्याएको भन्दै एनसेललाई सम्मानपत्र प्रदान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा रहँदै आएको छ ।
एनसेलले स्थापनाकालदेखि गत आव २०८०/८१ सम्म सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकहरूमा ३ सय अर्ब रुपैयाँभन्दा बढी तिरेको विज्ञप्तीमा उल्लेख छ । गत आवमा मात्रै कम्पनीले २०.३० अर्ब रुपैयाँ कर तथा शुल्क सरकारलाई दाखिला गरेको थियो । कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत २ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको उल्लेख छ ।