नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा मनिष श्रेष्ठ, नयाँ कार्यसमिति गठन
Saturday Aug 02, 2025
वि.सं.२०८२ साउन १७ शनिवार १३:१४
पोखरा । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) को अध्यक्षमा मनिष श्रेष्ठ चयन हुनुभएको छ । शुक्रबार पोखरामा सम्पन्न मञ्चको वार्षिक साधारण सभाले सन् २०२५–२०२६ कार्यकालका लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
काजी स्टुडीयोका संस्थापक श्रेष्ठ विगत चार वर्षदेखि मञ्चमा सक्रिय रहँदै आउनुभएको छ । मञ्चका निवर्तमान अध्यक्ष आशिष अग्रवालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराउँदै पद हस्तान्तरण गर्नुभयो ।
श्रेष्ठको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिमा सुगम घिमिरे (लर्निङ चेयर), पुनित अग्रवाल (मेम्बर इन्टीग्रेसन चेयर), निदा दुन मल्ल (ग्रोथ एण्ड एक्सपान्सन चेयर), यश अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (इन्टरनेशनल रिलेसन्स चेयर), चिराग सरावागी (स्टार्टअप चेयर), साइनी खेतान (नेटवर्क एण्ड कम्युनिकेसन चेयर) र सुजीत रेग्मी (स्टार्टअप को–चेयर) चयन हुनुभएको छ ।
साधारण सभाको अवसरमा मञ्चका सबैभन्दा सक्रिय सदस्यको अवार्ड सुदयकान्त झाले प्राप्त गर्नुभयो भने सबैभन्दा धेरै सदस्यता वृद्धि गराउने CNIYEF लुम्बिनीलाई पनि विशेष अवार्ड प्रदान गरिएको छ । साथै, मञ्चबाट सार्क ट्याङ्क नेपालमा प्रतिनिधित्व गर्ने मनिष श्रेष्ठ, सुजीत रेग्मी र अरुण अग्रवाललाई “टोकन अफ लभ” प्रदान गरिएको थियो ।
सन् २००८ मा स्थापना भएको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले उद्यमशीलतामा युवाको सहभागिता बढाउने, नेटवर्क विस्तार गर्ने र नेतृत्व विकासमा योगदान पुर्याउने उद्देश्य राख्दै आएको छ ।
























