हालैको आन्दोलनबाट बीमा दाबी रकम २३ अर्ब २२ करोड नाघ्यो, ३ हजारभन्दा बढी क्षति दाबी दर्ता

Saturday Oct 11, 2025
वि.सं.२०८२ असोज २५ शनिवार १४:२७

काठमाडौं । हालै देशभर भएका आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबारसम्म आइपुग्दा करिब रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ।
बीमा प्राधिकरणलाई प्राप्त तथ्यांक अनुसार, देशभरका १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा गरी जम्मा ३ हजार ९९ वटा बीमा दाबी दर्ता भएका छन्।
दाबी गरिएको कुल रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानीसहित करिब रू. १ अर्ब २९ करोड १९ लाख भुक्तानी भइसकेको छ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूले क्षतिको मूल्यांकनका लागि अहिलेसम्म २ हजार ७०६ जना सर्भेयर खटाएका छन्, जसअन्तर्गत ३७४ वटा सर्भे प्रतिवेदन बीमा कम्पनीहरूमा पेश भइसकेको छ।
बीमा प्राधिकरणका अनुसार, बाँकी सर्भे प्रतिवेदनहरू पनि क्रमशः तयार हुँदैछन् र सम्बन्धित बीमा कम्पनीहरूले दाबी भुक्तानी प्रक्रियालाई शीघ्र टुंग्याउने तयारी गरिरहेका छन्।
यससँगै हालको आन्दोलनबाट प्रभावित व्यवसाय, उद्योग, सवारीसाधन र सम्पत्तिहरूमा भएको क्षतिलाई सम्बोधन गर्न बीमा क्षेत्र सक्रिय रूपमा जुटिरहेको प्राधिकरणले जनाएको छ।