रोयल इन्फिल्डको नयाँ स्क्र्याम ४४० नेपालमा: एडभेन्चर र सहर दुबैका लागि एकै बाइक
Monday Oct 20, 2025
वि.सं.२०८२ कात्तिक ३ सोमवार ०७:४९
काठमाडौं विश्वप्रसिद्ध मिड–साइज मोटरसाइकल ब्रान्ड रोयल इन्फिल्डले नेपालको मोटरसाइकल बजारमा नयाँ क्रान्ति ल्याउँदै आफ्नो बहुप्रतीक्षित स्क्र्याम ४४० लन्च गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच यस बाइक लन्च गरिएको हो ।
एडभेन्चर क्रसओभरको रूपमा डिजाइन गरिएको यो मोटरसाइकलले शहरका व्यस्त सडकमा आवश्यक चुस्त गतिशीलता र अफरोडका चुनौतीपूर्ण ट्रेलहरूमा वास्तविक क्षमता मिश्रित गर्दै राइडरहरूलाई ‘जहाँ पनि, जुनसुकै समयमा रमाइलो’ को स्वतन्त्रता प्रदान गर्छ । मजबुत एलएस ४४० इन्जिनद्वारा सञ्चालित यो बाइकले २३.४ बीएचपी पावर र ३४ एनएम टर्क उत्पादन गर्छ, जसले सहज, शक्तिशाली र रोमाञ्चक सवारी अनुभव सुनिश्चित गर्छ ।
नेपालभरका सबै डिलरशिपहरूमा बुकिङ खुला भइसकेको यो मोटरसाइकलको मूल्य ६ लाख ८९ हजार ९ सय रुपैयाँबाट सुरु हुन्छ ।
रोयल इन्फिल्डको शुद्ध मोटरसाइकलिङ डीएनएमा आधारित स्क्र्याम ४४० ले एडभेन्चरको जन्मजात गुणलाई खेलकुद–मस्तीका लागि ट्युन गरेको छ । यो क्रसओभर मोटरसाइकल ट्रेल र फोर्स गरी दुई भेरिएन्टमा उपलब्ध छ । ट्रेल भेरिएन्टले परम्परागत स्पोक ह्विल र ट्युब टायरसहित अफरोडका लागि आदर्श डिजाइन बोकेको छ, जुन ट्रेल ब्लु र ट्रेल ग्रीन कलर अप्सनमा आउँछ । यसको विपरीत, फोर्स भेरिएन्ट शहर–केन्द्रित सवारीलाई ध्यानमा राखेर आधुनिक अलोय ह्विल र ट्युबलेस टायरसहित तयार पारिएको छ, जुन फोर्स ब्लु, फोर्स ग्रे र फोर्स टील कलरमा उपलब्ध हुन्छ ।
यसमा ४४३ सीसीको नयाँ लङ स्ट्रोक सिंगल सिलिन्डर एयर–कुल्ड इन्जिन जडान गरिएको छ, जसले २३.४ बीएचपी पावर र ३४ एनएम टर्क उत्पन्न गर्छ । सिक्स–स्पिड गियरबक्सले शहरका ट्राफिक जाममा सहज स्विचिङ र अफ–रोड ट्रेलहरूमा शक्तिशाली एक्सेलरेसन प्रदान गर्छ । हरेक प्रकारको भू–भागका लागि तयार यो बाइकमा १९ इन्च अगाडि र १७ इन्च पछाडिका ड्युअल–पर्पोज ट्युबलेस टायर, स्विचेबल एबीएस र मात्र ७९५ एमएमको सिट हाइट समावेश छन् । यसले नयाँ राइडरहरूलाई पनि सहज महसुस गराउँछ भने अनुभवीहरूलाई थप आत्मविश्वास दिन्छ ।
डिजाइनको हिसाबले, स्क्र्याम ४४० ले सन्तुलित एर्गोनोमिक्स र अप–राइट राइडिङ पोजिसन अपनाएको छ, जसले लामो यात्रामा थकान कम गर्छ । अगाडि १९० एमएम र पछाडि १८० एमएमको सस्पेन्सन ट्राभलले उबडखाबड सडक वा अफ–रोडमा उत्कृष्ट नियन्त्रण सुनिश्चित गर्छ । २०० एमएमको ग्राउन्ड क्लियरेन्सले पहाडी बाटोहरूमा पनि निर्बाध यात्रा सम्भव बनाउँछ । यसबाहेक, उज्ज्वल एलईडी हेडलाइट, सुधारिएको ब्रेकिङ सिस्टम र टप बक्स रेडीनेस जस्ता फिचरहरूले यसलाई दैनिक कम्युटिङदेखि विकेन्ड एडभेन्चरसम्म बहुउपयोगी बनाएको छ ।
रोयल इन्फिल्डका चीफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलरियाले लन्च कार्यक्रममा भने, ‘नेपाल हाम्रो लागि सधैं उत्साहजनक र तीव्र गतिमा बढ्दो बजार रहँदै आएको छ । यस वर्ष हामीले नयाँ क्लासिक ३५० र अब स्क्र्याम ४४० जस्ता प्रमुख मोडलहरू प्रस्तुत गरेर हाम्रो प्रतिबद्धता झल्काएका छौं । यसको चलायमान बनावट र बहुपक्षीय चरित्र नेपालका विविध भू–भागहरूका लागि आदर्श छ । हामी विश्वस्त छौं कि यो एडभेन्चर–ट्युन गरिएको मोटरसाइकलले नेपालको मोटरसाइकलिङ समुदायलाई विस्तार गर्नेछ र देशभर हाम्रो उपस्थितिलाई अझ मजबुत बनाउनेछ ।’
कम्पनीले नेपालमा आफ्नो लगानीलाई पनि मजबुत बनाउँदै आएको छ । सन् २०२३ को जुनमा त्रिवेणी समूहसँग साझेदारी गर्दै बिरगंजमा सिकेडी (कम्प्लिटली नक्ड डाउन) एसेम्बली प्लान्ट स्थापना गरेको रोयल इन्फिल्डको यो प्लान्टको वार्षिक उत्पादन क्षमता २० हजार युनिट छ ।
यो प्लान्टले भारतको तमिलनाडुस्थित अत्याधुनिक उत्पादन सुविधासँग मिलेर दक्षिण एशियाली बजारप्रतिको दीर्घकालीन प्रतिबद्धता प्रदर्शित गर्छ । यसले नेपालमा स्थानीय रोजगारी सिर्जना गर्दै उच्च गुणस्तरका मोटरसाइकलहरू उपलब्ध गराउने सुनिश्चित गरेको छ ।
स्क्र्याम ४४० ले रोयल इन्फिल्डको एडभेन्चर विरासतलाई नयाँ उचाइमा पु¥याउँदै नेपालका विविध सडकहरूमा नयाँ सम्भावनाहरू खोलिदिएको कम्पनीको भनाइ छ । चाहे शहरका दैनिक यात्रा होस् वा पहाडी ट्रेलहरूको रोमाञ्च, यो मोटरसाइकलले हरेक राइडरलाई आत्मविश्वास र मज्जा दिन्छ ।

























