Ncell NPL
NIMB
NMB Bank

‘सफलता एचआइभी शिक्षा सदन’ : विभेद खेप्दै स्थापित एक नमूना शिक्षालय

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

सुरुमा बालबालिकाहरु आफन्तबाट सुनेका पीडादायी शब्दहरूले त्रसित थिए । उनीहरुका आफन्तले ‘तिमीहरुका बुवाआमा जस्तै तिमीहरु पनि छिट्टै मर्छौ’ भन्ने गरेका कारण उनीहरुको मनोबल निकै खस्केको थियो । तर, ति बालबालिकाहरुलाई हामीले काउन्सिलिङ गर्दै मनोबल बढाउने काम गर्यौं ।
राज कुमार पुन
संस्थापक अध्यक्ष
बेबी लाइफ होम (सफलता एचआइभी शिक्षा सदन)

 

काठमाडौं । करिब १६–१७ वर्षअघि दाङमा एचआईभी संक्रमित बालबालिकाको दयनीय अवस्था देखेपछि सुरु गरिएको सानो सहयोग अभियानले आज एक संस्थागत रूप लिएको छ । सफलता एचआईभी शिक्षा सदनका संस्थापक अध्यक्ष राजकुमार पुनका अनुसार संक्रमित बालबालिकाहरुसँगको पहिलो भेट नै उनको जीवनमा नयाँ मोड बन्न पुग्यो ।

एउटा राष्ट्रिय दैनिक पत्रिकामा दाङ जिल्लामा एचआईभी संक्रमित बालबालिका बिचल्लीमा भन्ने समाचार प्रकाशित भएपछि पुन र उनका साथीहरु दाङको घोराहीमा रहेका १६ जना संक्रमित बालबालिकाहरुलाई केही राहत सामग्री लिएर भेट्न गएका थिए । तर त्यहाँको स्थिति देखेर पुन र उनका साथीहरु त्यसै बस्न सकेनन् ।

एचआईभी पीडित बालबालिकालाई सहयोग गरेर फर्किने बेलामा एक बच्चाका आफन्तले ‘यो बच्चालाई पनि लगिदिनुस, नत्र हाम्रो नानी–बाबुलाई पनि एचआईभी सर्छ’भन्दै गरेको आग्रहले राजकुमार पुनको मन निकै छोएको थियो । ति आफ्न्तले पुनसँग गरेको आग्रहले ति बालबालिकाहरुप्रति समाजले गर्ने विभेदपुर्ण व्यवहार प्रष्ट रुपमा झल्किन्थ्यो ।

त्यो विभेदपूर्ण व्यवहारले पुन र उनीसँगै गएकी उमा गुरुङलगायत टोलीलाई गहिरो गरी सोच्न बाध्य बनायो । पुन भन्छन्, ‘त्यो बेला बच्चाहरुलाई काठमाडौं ल्याउने कुनै योजना थिएन, तर त्यस्तो पीडा देखेपछि दीर्घकालीन केही गर्नुपर्छ भन्ने अठोट जन्मियो ।’

काठमाडौं फर्किएपछि ‘बेबी लाइफ होम’ नामक बालगृह दर्ता गर्दै पुन र उनका साथीहरुले चार बालबालिका लाई ल्याएर काम सुरु गरे । उनीहरुले बालबालिकालाई पढाइलेखाइ, स्वास्थ्य उपचार, काउन्सिलिङ र आवासीय संरक्षण पनि उपलब्ध गराए ।
तर, उनीहरूलाई सरकारी तथा निजी विद्यालयहरूले भर्ना लिन मान्न तयार भएनन् । ‘नर्मल स्कूलमा पढाउने हाम्रो पहिलो योजना असफल भएपछि हामी स्वयंले विद्यालय खोल्न बाध्य भयौँ,’ पुन सम्झिन्छन् ।

विस २०६८ सालमा ‘पहिचानसहितको विद्यालय’ संस्थागत रूपमा स्थापना भयो । नेपालमा मात्र नभइ विश्वमै आफ्नो पहिचान खुलाएर एचआईभी संक्रमित बालबालिकालाई शिक्षादेखि आवाससम्म उपलब्ध गराउने यो पहिलो संस्थागत मोडेल हो ।

बेबी लाइफ होममा अहिले २८ जना एचआईभी संक्रमित बालबालिका बस्दै आएका छन् । बेबी लाइफ होमले सञ्चालन गरेको ‘सफलता एचआईभी शिक्षा सदन’मा यतिबेला १ कक्षादेखि कक्षा १२ सम्म पढाइ हुन्छ । कुनै कक्षामा एकजना मात्रै बच्चा भएपनि शिक्षा सदनले नर्मल स्कुल सरहको नै करिकूलम लागू गरेको छ । यसै विद्यालयबाट पास भएका एकजना विद्यार्थी अहिले एमबीबीएस अध्ययन गरिरहेका छन् भने सात जना ब्याचलर लेभलमा अध्ययनरत छन् ।

समाजको विभेददेखि आत्मविश्वाससम्म
सुरुमा बालबालिकाहरु आफन्तबाट सुनेका पीडादायी शब्दहरूले त्रसित थिए । उनीहरुका आफन्तले ‘तिमीहरुका बुवा आमा जस्तै तिमीहरु पनि छिट्टै मर्छौ’ भन्ने गरेका कारण बालबालिकाहरुको मनोबल निकै खस्केको अवस्थामा थियो । तर, ति बालबालिकाहरुलाई पुन र गुरुङले काउन्सिलिङ गर्दै मनोबल बढाए ।

‘एचआईभी जीवनको अन्त्य होइन, तिमीहरू पनि अरू सरह केही गर्न सक्छौ’ भन्दै पुनले ति बालबालिकाहरुलाई जीवनको नयाँ आसा देखाउन थाले । जसलेगर्दा आज उनीहरू बढी आत्मविश्वासी छन् । घर नजिकैको धारामा पानी भर्न जाँदा मानिसहरू यी बच्चाहरुलाई छुन डराउँथे एउटै खेलमैदानमा खेल्न नदिने चलन थियो ।

दुई संस्थापकको १६ वर्षको समर्पण
संस्थापक सात जनामध्ये आज ‘पूर्ण समय’ दिन सक्ने उमा गुरुङ र राजकुमार पुन मात्र छन् । उमा गुरुङले आफ्नै कस्मेटिक व्यवसाय नै बन्द गरेर बालबालिकालाई सहयोग गरेकी थिइन भने पुनले कीर्तिपुरमा रहेको आफ्नो दुईतले घर बेचेर संस्थाको खर्च चलाएका थिए ।
पहिलो तीन–चार वर्षसम्म उनीहरूले कुनै पनि दाताको सहयोग नलिएर स्वयं आफ्नै खर्चबाट संस्था धानेका थिए । पछि समाजका शिक्षित वर्ग, जन्मदिन तथा वैवाहिक वर्षगाँठ मनाउने व्यक्तिहरू, पितृ तर्पणको रूपमा दान गर्ने दाताहरू क्रमशः जोडिँदै गएपछि बालबालिकाहरुका लागि खर्च जोहो गर्न विस्तारै सहज बन्दै गएको हो ।

सुरुमा उनले उमा गुरुङसँग मिलेर शुरुआतमा बसुन्धराको एउटा घरमा बालबालिकालाई राखियो, पछि पुनले आफ्नै घरमा आश्रय दिए । घर बेचिसकेपछि आवास खोज्न थाल्दा धेरै घरधनीहरूले ‘यो बच्चा मरेर घर अपवित्र हुन्छ’ भन्दै घर भाडा दिन अस्वीकार गरे । विद्यालयहरूले पनि भर्ना लिन मानेनन् । सामाजिक गाली गलौज र आरोप ‘यो नाम र दामका लागि गरेको हो’ भन्ने आरोपहरूले मन दुखाए पनि उनीहरू पछि हटेनन् ।

स्थानीय समुदायबाट समेत विरोध आएपनि निरन्तर संवादपछि बिस्तारै सबै बुझ्दै गए र विद्यालय सञ्चालनमा सहयोगी बने । पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आफ्नो कार्यकालमा संस्थालाई एक करोड रुपैयाँको अक्षयकोष उपलब्ध गराइएको थियो । स्वास्थ्य उपचारका लागि पनि सरकारी संयन्त्रले केही सहयोग गरेको संस्थाले जनाएको छ ।

संस्था पूर्ण रूपमा दानमा निर्भर नहोस् भन्नका लागि पुन र गुरुङले ज्याकेट फ्याक्ट्रीदेखि कृषि फर्म जस्ता व्यवसाय सञ्चालन गरेका छन् । संस्थामार्फत ब्याचलर पढिरहेका विद्यार्थीलाई पनि आत्मनिर्भरताको सीप र ‘डोनेसनमा मात्र भर पर्न नहुने शिक्षण’ दिइँदै आएको छ ।
सुरु सुरुमा संस्थालाई ‘डोनेसन खाने संस्था’ भनी आरोप लगाउनेहरु धेरै थिए । पुन भन्छन,‘त्यस्ता आरोप र बचनले नै हाम्रो आत्मविश्वास झनै बढायो र हाम्रो जीवनभरको जिम्मेवारी यहि हो भनेर हामी लअघि बढ्यौँ ।’ १६ वर्षअघि सुरु गरिएको एउटा सहानुभूतिपूर्ण कदम आज २८ एचआईभी संक्रमित बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्य निर्माणको भरपर्दो आधार बनेको छ ।

हाल विद्यालय चलाउन मासिक करिब दुई लाखभन्दा बढी खर्च हुन्छ, जसमा शिक्षक–कर्मचारी तलबदेखि स्वास्थ्य उपचार र भोजनसमेत पर्छ । सरकारले दिएको एक करोड अक्षय कोषबाट वर्षेनी ६ प्रतिशत ब्याज मात्र आउँछ, कीर्तिपुर नगरपालिकाबाट केही रकम आउँछ, बाँकी सबै खर्च पुन र गुरुङले आफ्नै व्यवसाय—ज्याकेट फ्याक्ट्री र कृषि फर्म—बाट बेहोर्छन् ।

पुन भन्छन,‘दुःख–सुख भए पनि शिक्षकको तलब रोकिएको छैन, बालबालिकाको उपचार कहिल्यै रोकिने अवस्था आएको छैन् ।’ यद्यपि एचआईभी सम्बन्धी सचेतना वर्षौँदेखि फैलाइँदै आएपनि समाजमा विभेद अझै उस्तै रहेको पुनको अनुभव छ । ‘सँगै बस्दा सर्दैन, सँगै खाँदा सर्दैन भन्ने थाहा हुँदाहुँदै पनि व्यवहारिक रूपमा विभेद कम भएको छैन,’उनी भन्छन् ।

उनी सरकारसमक्ष एचआईभी भएकै कारण पढ्न, रोजगार पाउन वा सामाजिक सेवाबाट वञ्चित गरिएका व्यक्तिलाई न्याय दिलाउने स्पष्ट नीति बनोस’ भन्ने माग राख्छन् । समुदायमा ‘पहिचान नखुलाउने’ सामान्य प्रवृत्तिको बीचमा पुनले भने ‘पहिचानसहित’ विद्यालय स्थापना गरे, किनभने नाम लुकाएर विभेद हटाउन नसकिने उनको तर्क छ ।

उनी भन्छन,‘यी बच्चाहरू गाउँमै ढुङ्गा हानेर लखेटिने अवस्था छ, स्कुलहरूले भर्ना लिँदैनन् भने पहिचान लुकाएर न्याय कहाँ मिल्थ्यो ?’ हाल संस्थामा रहेका २८ बालबालिकाहरु मध्ये अधिकांशका अभिभावक एचआईभीकै कारण बितिसकेका छन् ।

धेरै वर्षदेखि दशैँ–तिहार लगायत चाडपर्व समेत बालबालिकासँगै मनाउँदै आएका पुन भन्छन,‘यी नै हाम्रा परिवार हुन् ।’ समयमै एआरभी औषधि लिए एचआईभी भएका व्यक्तिले सामान्य जीवन बाँच्न सक्ने कुरा उनीहरूको अनुभवले प्रमाणित गरिरहेको छ । यही विद्यालयबाट पढेका विद्यार्थीहरू प्लस टु, ब्याचलर हुँदै आज एमबीबीएससम्म पुगेका छन् । पुन विशेष गर्वका साथ भन्छन्,‘एमबीबीएस पढ्दै गरेको हाम्रो बाबु केही वर्षपछि समाजका गरिब–असहायका लागि निःशुल्क सेवा दिन सक्छ ।’

समाजप्रति पुनको अन्तिम आग्रह सरल छ,‘सकिएकै ठाउँबाट सहयोग गरौँ—पैसा मात्रै होइन, हौसला र माया दिन पनि ठूलो कुरा हो । एचआईभी भएको भन्दै छि–छि नगरौँ । उनीहरू पनि अरु जस्तै नागरिक हुन् ।’ १६ वर्षको निरन्तर संघर्षपछि ‘पहिचानसहितको विद्यालय’–सफलता एचआइभी शिक्षा सदन आज एचआईभी संक्रमित बालबालिकाको शिक्षादेखि भविष्य निर्माणसम्मका लागि सुरक्षित र प्रेरणादायी आश्रय बनेको छ । संभवत विश्वमै पहिलो पटक यस्तो मोडलमा वा एचआइभी संक्रमितहरुका लागि मात्र खुलेको पहिलो विद्यालयका रुपमा पनि पहिचान स्थापित गरेको छ ।

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ : प्राडा दाहाल

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:११

  काठमाडौं । शिक्षाविद् प्राध्यापक डाक्टर राम प्रसाद दाहालले वर्तमान...

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छ : वस्नेत

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड...

वि.सं.२०८२ चैत ३० सोमवार २३:४९

  काठमाडौं । बुद्ध एयरले आफ्ना यात्रुका लागि नयाँ माइलेस...

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको भरोसाको सारथी

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको...

वि.सं.२०८२ चैत २९ आइतवार १३:५६

काठमाडौं । हरेक बिहान एउटा आमा आफ्नो बच्चालाई स्कुल जान...

कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छ :सभामुख अर्याल

कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा...

वि.सं.२०८२ चैत २९ आइतवार १३:३१

  काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले अब कानुन निर्माण र...