एनआईसी एशिया बैंकले ‘नेपालपे कार्ड’ जारी गर्न एनसीएचएलसँग सम्झौता
Monday Dec 01, 2025
वि.सं.२०८२ मंसिर १५ सोमवार २२:२०
काठमाडौं । एनआईसी एशिया बैंकले नेपालकै राष्ट्रिय भुक्तानी प्रणाली ‘नेपालपे कार्ड’ जारी गर्ने भएको छ। यसका लागि बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)सँग नेशनल कार्ड स्वीच तथा डोमेस्टिक कार्ड स्किम को प्रिन्सिपल सदस्यताका लागि औपचारिक रुपमा सम्झौता गरेको हो।
सम्झौतापत्रमा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
एनसीएचएलले हालै नेशनल कार्ड स्वीचको पूर्वाधार पूर्ण रूपमा तयार भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई ‘नेपालपे कार्ड’ जारी तथा स्वीकार गर्न आफ्नो स्वीचमा समाहित हुन आग्रह गरेको थियो। यही क्रममा एनआईसी एशिया बैंकले यस प्रणालीमा आवद्ध हुँदै आफ्ना ग्राहकका लागि छिट्टै ‘नेपालपे कार्ड’ उपलब्ध गराउने तयारी गरेको हो।
नेशनल कार्ड स्वीचलाई विभिन्न कार्ड स्वीचहरूबीच अन्तर–आबद्धता कायम गर्दै स्वदेशी कार्ड कारोबारहरूको राउटिङ तथा सेटलमेन्टका लागि केन्द्रीय प्लेटफर्मका रूपमा निर्माण गरिएको छ। यस प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि स्वदेशी कार्ड कारोबारको लागत घट्ने, डेटा स्थानीयकरण सुनिश्चित हुने र डिजिटल इकोसिस्टममा नयाँ प्रविधिको विकास र प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
एनसीएचएल हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थासहित अधिकांश भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरूलाई सेवा प्रदान गर्दै आएको छ।
नेपालका प्रमुख बैंकमध्ये एक एनआईसी एशिया बैंकले देशभर ३६० शाखा, ११५ विस्तारित काउन्टर, ४१ शाखारहित बैंकिङ सेवा तथा ६८९ एटीएम मार्फत सेवा दिंदै आएको छ। बैंकले विश्वास लिएको छ कि यो सहकार्यले नेपालको कार्ड तथा डिजिटल भुक्तानी प्रणालीलाई नयाँ उचाइमा पुर्याउनेछ।



























