रिज इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न, १ लाख १८ हजार २६ जनाले पाए शेयर
Thursday Feb 26, 2026
वि.सं.२०८२ फागुन १४ बिहीवार ०९:२८
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार बिहान बाँडफाँड प्रक्रिया पूरा गरेको हो।
कम्पनीको आईपीओ १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले कुल ११ लाख ८० हजार २ सय ६० कित्ता शेयर पाएका छन्। यसअघि कम्पनीले आयोजनाबाट प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको थियो।
नेपाल धितोपत्र बोर्डले मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। रिज लाइन इनर्जीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण गरी २०८० माघदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ।
कम्पनीले ११ मेगावाट क्षमताको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ। सोपान मल्टिपलले कम्पनीमा १० लाख कित्ता शेयर लगानी गरेको छ भने मुक्तिनाथ क्यापिटलको २ लाख कित्ता शेयर लगानी रहेको छ।



























