शिक्षा क्षेत्रका उत्कृष्ट संस्था र व्यक्तित्व सम्मानसहित ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ भव्य रूपमा सम्पन्न
Thursday Jun 18, 2026
वि.सं.२०८३ असार ४ बिहीवार ११:५१
काठमाडौं । ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ भव्य रुपमा सम्पन्न भएको छ । शिक्षा क्षेत्रका उत्कृष्ट संस्था, शिक्षाविद् र शैक्षिक व्यक्तित्वहरूको सम्मानसँगै महत्वपूर्ण बौद्धिक बहसका साथ उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले ललितपुरस्थित द प्लाजामा आयोजना गरेको अवार्ड कार्यक्रममा शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेका विद्यालय, कलेज, शिक्षाविद् तथा शैक्षिक परामर्श संस्थाहरूलाई सम्मान गर्दै नेपालको शिक्षा प्रणालीको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे गम्भीर विमर्श गर्ने अवसर पनि जुट्यो ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा. ओजश्वी शेरचनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रका नीति निर्माता, विश्वविद्यालयका पदाधिकारी, विद्यालय तथा कलेज सञ्चालक, शिक्षक, विद्यार्थी र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रह्यो ।
अवार्ड वितरणअघि आयोजित दुई विशेष प्यानल डिस्कसन कार्यक्रमको मुख्य आकर्षण बने । पहिलो सत्र ‘शिक्षामा निजी क्षेत्रको लगानी’ मा केन्द्रित थियो । निजी क्षेत्रले नेपालको शिक्षा क्षेत्रमा पुर्याएको योगदान, लगानीको सुरक्षा, बैंकिङ क्षेत्रको भूमिका र सरकारी नीतिको प्रभावबारे गहन छलफल भयो । राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष महाश्रम शर्मा र हिसान तथा प्याब्सनका पूर्वअध्यक्ष उमेश श्रेष्ठले की–नोट वक्ताका रूपमा निजी क्षेत्रको योगदानलाई राज्यले उचित रूपमा मूल्यांकन गर्नुपर्ने धारणा राखे । त्यसपछि भएको प्यानल छलफलमा शिक्षा मन्त्रालय, बैंकिङ क्षेत्र तथा निजी शिक्षण संस्थाका प्रतिनिधिहरूले शिक्षा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माणको आवश्यकता औँल्याए ।
त्यस्तै दोस्रो सत्रमा ‘के नेपाललाई एजुकेसन हब बनाउन सकिन्छ ?’ विषयमा केन्द्रित थियो । छलफलमा सहभागी वक्ताहरूले नेपालमा उच्च शिक्षा र प्राविधिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सके विदेशी विद्यार्थी आकर्षित गर्न सकिने तथा शिक्षा क्षेत्रलाई मुलुकको आर्थिक विकाससँग जोड्न सकिने धारणा व्यक्त गरे। उनीहरूको निष्कर्ष थियो । नेपालसँग सम्भावना प्रशस्त छ, तर त्यसका लागि नीतिगत सुधार र व्यावहारिक शिक्षामा जोड दिन आवश्यक छ ।
कार्यक्रममा प्यानल डिस्कसनपछि शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका दुई व्यक्तित्वलाई ‘शिक्षा क्षेत्रका लागि प्रोज्ज्वल नक्षत्र २०८३’ उपाधिबाट सम्मान गरिएको छ । जसमा सुदूरपश्चिम विश्वविद्यालयका प्रथम संस्थापक उपकुलपति प्रा.डा. जयराज अवस्थी र प्रसादी एकेडेमीका विक्रम राई रहेका छन् । त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्यापन र अनुसन्धानमा बिताएका अवस्थीले सुदूरपश्चिम विश्वविद्यालय स्थापना र संस्थागत विकासमा ऐतिहासिक भूमिका निर्वाह गरेका छन् भने राईले माध्यमिक शिक्षामा उल्लेखनीय योगदान पुर्याएका छन् ।
त्यस्तै शिक्षा क्षेत्रको विकास, व्यवस्थापन र संस्थागत सुदृढीकरणमा योगदान पुर्याएका पिनाकल एकेडेमीका प्रिन्सिपल डा. ऋषी तिवारी, काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. भोला थापा तथा राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्याल लाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८३’ प्रदान गरिएको छ ।
यसैगरी अवार्ड समारोहको मुख्य आकर्षण देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरूको सम्मान थियो । राष्ट्रिय परीक्षा बोर्डको शैक्षिक नतिजा, संस्थागत योगदान र शैक्षिक वातावरणका आधारमा काठमाडौं मोडल सेकेन्डरी स्कुल (केएमसी), ट्रिनिटी इन्टरनेसनल सेकेन्डरी स्कुल तथा विश्व निकेतन सेकेन्डरी स्कुललाई सर्वोत्कृष्ट विद्यालयका रूपमा सम्मान गरिएको छ ।
यसका अतिरिक्त विभिन्न विधामा नासा, लिभरपुल, रिलायन्स, सेन्ट लरेन्स, मेरील्याण्ड, अरनिको, मदरल्याण्ड, नोबेल, लिटिल एन्जल्स, भीएस निकेतन, नेपाल काष्ठमण्डप, युनिग्लोबललगायत संस्थाहरू सम्मानित भएका छन् । यतिमात्र नभई प्रदेशगत रूपमा पनि सातै प्रदेशका उत्कृष्ट सामुदायिक विद्यालयहरूलाई पनि सम्मानगरिएको छ ।
यसैगरी विदेश अध्ययनका लागि नेपाली विद्यार्थीलाई मार्गदर्शन गर्दै आएका प्रतिष्ठित शैक्षिक परामर्श संस्थाहरूलाई पनि विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ । जसमा अल्टिमेट कन्सल्टेन्सी एण्ड एडभाइजरी नेटवर्क (युक्यान), कङ्गारु एजुकेसन, अप्टिमस ग्लोबल, केआईईसी, इन्फर्मेटिक्स, अर्बिट इन्टरनेसनल, ओपन भिजन, वेद इन्टरनेशनल एजुकेशन, इनलाईटेन इन्टरनेसनललगायत संस्थाहरूले विभिन्न अवार्ड प्राप्त गरेका छन् ।
‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड’ कार्यक्रमले केवल अवार्ड वितरणमा मात्र सिमित नभई शिक्षा क्षेत्रका सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याएर नेपालको शिक्षा प्रणाली सुधार, लगानीको वातावरण, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र गुणस्तरीय शिक्षाको भविष्यबारे खुला बहस गर्ने अवसर पनि प्रदान गरेको छ ।
























