याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो
Friday Aug 07, 2026
वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९
काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली बजारमा नयाँ GS70, GT70 र GT80 स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले नयाँ पुस्ताका उपभोक्ताको आवश्यकता र बढ्दो विद्युतीय सवारीको मागलाई लक्षित गर्दै यी मोडल बजारमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार नयाँ स्कुटरहरू आधुनिक डिजाइन, उन्नत प्रविधि तथा दैनिक प्रयोगलाई सहज बनाउने विशेषतासहित उपलब्ध गराइएको हो। GS70 मा २.१ किलोवाट–घण्टा (kWh) क्षमताको LFP ब्याट्री र २ किलोवाट (kW) मोटर जडान गरिएको छ। त्यस्तै, GT70 मा ३ kWh क्षमताको LFP ब्याट्रीसँग ३ kW मोटर र GT80 मा ३ kWh ब्याट्री तथा ३ kW मोटर रहेको कम्पनीले जनाएको छ।
याडियाले तीनै मोडलमा ऊर्जा दक्षता, सहज सञ्चालन, आरामदायी राइडिङ अनुभव तथा आधुनिक फिचरमा विशेष ध्यान दिइएको उल्लेख गरेको छ। कम्पनीका अनुसार यी स्कुटरहरू सहरी तथा दैनिक आवागमनलाई लक्षित गरी विकास गरिएका हुन्।
नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको अवस्थामा नयाँ मोडलहरूले उपभोक्तालाई थप विकल्प उपलब्ध गराउने कम्पनीको विश्वास छ। याडियाले देशभर रहेका आफ्ना आधिकारिक शोरुममार्फत नयाँ स्कुटरहरूको बिक्री सुरु गरिसकेको जनाएको छ।
साथै कम्पनीले बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको सहज उपलब्धता र ग्राहक सेवामा पनि प्राथमिकता दिइने बताएको छ। प्रतिस्पर्धी विद्युतीय दुईपांग्रे बजारमा याडियाले नयाँ मोडलमार्फत आफ्नो उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ।






















