एक्स्पोअघि नै काठमाडौंमा देखियो चेरी क्यू, विद्युतीय गाडी बजारमा बढ्दै चर्चा
Sunday Aug 09, 2026
वि.सं.२०८३ साउन २४ आइतवार ०८:४०
काठमाडौं । नेपालमा आधिकारिक सार्वजनिक प्रदर्शन हुनुअघि नै चेरी क्यू काठमाडौंका सडकमा देखिएपछि नयाँ विद्युतीय सवारीसाधनप्रति चासो बढेको छ।
नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले आगामी अगस्ट ११ देखि १६ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाडा मोबिलिटी एक्स्पो २०२६मा चेरी क्यू सार्वजनिक गर्ने तयारी गरेको छ।
काठमाडौंमा सार्वजनिक रूपमा देखिएसँगै चेरी क्यूको डिजाइन, प्रविधि र सुविधाबारे सामाजिक सञ्जालमा समेत चर्चा सुरु भएको छ। कम्पनीले यसलाई आधुनिक शहरी जीवनशैलीलाई लक्षित गरिएको विद्युतीय अर्बन क्रसओभरका रूपमा प्रस्तुत गर्दै आएको छ।
चेरी क्यूमा ४१.२ किलोवाट घण्टाको ब्याट्री रहेको छ। यसले एकपटकको चार्जमा ४०० किलोमिटरसम्मको यात्रा गर्न सक्ने दाबी गरिएको छ। गाडीमा ५४० डिग्री सराउन्ड क्यामेरा, १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ७० लिटरको फ्रंक स्पेस उपलब्ध छ।
त्यस्तै, यसमा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र २० भन्दा बढी उन्नत चालक सहायता प्रणाली (एडीएएस) समावेश गरिएको छ।
डिजाइनका कारण अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा पाएको चेरी क्यूले रेड डट डिजाइन अवार्ड २०२५ र आईएफ डिजाइन अवार्ड २०२६ प्राप्त गरिसकेको कम्पनीले जनाएको छ।
नेपालको विद्युतीय सवारी बजारमा नयाँ मोडल र ब्रान्ड थपिने क्रम बढिरहेका बेला चेरी क्यूको प्रवेशलाई बजारमा थप प्रतिस्पर्धा बढाउने कदमका रूपमा हेरिएको छ। यसको मूल्य, भेरियन्ट र बिक्रीसम्बन्धी थप विवरण भने नाडा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।























