सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित
Friday Aug 21, 2026
वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:४०
काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरेको छ।
भदौ ३ गते भक्तपुरको राधे–राधेस्थित रोयल थाई हस्पिटालिटीमा आयोजित कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखाका एडीएम, उत्कृष्ट अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी तथा क्षेत्रीय प्रबन्धकहरू सनत सत्याल, मुरारी प्रसाद तिवारी र आलोक खड्कासहित कम्पनीका विभिन्न तहका अधिकारीहरूको उपस्थिति थियो।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एडीएम तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। साथै, मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) हासिल गर्न सफल अभिकर्तालाई समेत विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ।
सम्मानित अभिकर्तालाई आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन गर्न प्रोत्साहित गर्दै कम्पनीले अभिकर्ताको योगदानलाई उच्च प्राथमिकतामा राखेको सन्देश दिएको थियो।
अभिकर्ताको योगदान महत्वपूर्ण : चौलागाईं
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बजार अधिकृत गणेश चौलागाईंले बागमती प्रदेशका अभिकर्ताले उत्कृष्ट कार्यसम्पादन गर्दै कम्पनीको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
उनले आगामी दिनमा पनि अभिकर्ताले अझ राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्दै कम्पनीले अभिकर्तामुखी विभिन्न कार्यक्रम, योजना तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। अभिकर्ताको सेवा–सुविधा तथा व्यावसायिक विकासमा आगामी दिनमा थप ध्यान दिने उनको भनाइ थियो।
‘कम्पनीको सफलताको श्रेय अभिकर्तालाई’
प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले आफ्नो छुट्टै पहिचान र व्यावसायिक छवि निर्माण गर्न सफल भएको उल्लेख गर्दै त्यसको महत्वपूर्ण श्रेय अभिकर्ता तथा एजेन्सी सञ्जालको मेहनत, लगनशीलता र योगदानलाई जाने बताए।
उनले आगामी दिनमा अभिकर्तालाई थप सशक्त, सक्षम र व्यावसायिक बनाउँदै कम्पनीको यात्रालाई अझ मजबुत रूपमा अगाडि बढाउने बताए।
बागमती प्रदेश जीवन बीमा व्यवसाय विस्तारका दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै अर्यालले अभिकर्ताको सक्रियता र नेतृत्व क्षमताले कम्पनीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
व्यवसायिक क्षमता अभिवृद्धिमा जोड
कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखाका एडीएम, उत्कृष्ट अभिकर्ता, एमडीआरटी अचिभर्स, शाखा प्रमुख, क्षेत्रीय व्यवस्थापक तथा कर्मचारीको सहभागिता थियो।
कार्यक्रमले अभिकर्ताबीच आपसी सम्बन्ध विस्तार, नेतृत्व विकास, उत्प्रेरणा तथा व्यावसायिक क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको सहभागीले बताएका छन्।
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउँदै बीमाको पहुँच विस्तार, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यावसायिक विकासलाई प्राथमिकतामा राखेर आफ्नो यात्रा अघि बढाइरहेको छ।























