समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्ज हुँदै, नाम पोखरा फाइनान्स राख्ने सहमति
Monday Jul 21, 2025
वि.सं.२०८२ साउन ५ सोमवार ०८:२१
काठमाडौं । समृद्धि फाइनान्स र पोखरा फाइनान्स कम्पनी मर्ज हुने भएका छन् । दुई वित्त कम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जरका लागि दुबै कम्पनी बिच आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ । मर्जपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय भने काठमाडौंमा रहने बताइएको छ । साथै, समृद्धिका ४ र पोखरा फाइनान्स बाट ३ सञ्चालक समिति सदस्यको प्रतिनिधित्व हुने भएको छ ।
कम्पनीको अध्यक्षमा हाल समृद्धिका अध्यक्ष रहेका अजय कुमार मिश्र रहने छन् भने सीईओमा को रहने भन्ने बारे स्पष्ट भइसकेको छैन । हाल समृद्धिको सीईओमा सन्तोष कुमार घिमिरे र पोखराको सीईओमा प्रकाश गुरुङ रहेका छन् । मर्जर पछि फाइनान्सको नाम पोखरा फाइनान्स राख्ने सहमति भएको छ । केन्द्रीय कार्यालय पोखरामा रहने छ ।
दुवै संस्थाले नियामकीय प्रक्रिया पूरा गरी मंसिरभित्र एकीकृत कारोबार थाल्ने सहमति भएको छ । आइतबारदेखि दुवै फाइनान्सको कारोबार रोक्का हुनेछ । हाल पोखराको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख रुपयाँ रहेको छ । समृद्धिको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ । मर्जरपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड ६ लाख रुपैयाँ पुग्नेछ ।
























