ला.प.से. र मा.प.से. सेवन गरी सवारी चलाउने ९ चालक नियन्त्रणमा
Wednesday Nov 05, 2025
वि.सं.२०८२ कात्तिक १९ बुधवार २३:४१
काठमाडौं, २०८२ कार्तिक १९ —काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा लागुऔषध (ला.प.से.) र मादक पदार्थ (मा.प.से.) सेवन गरी सवारी साधन चलाउने नौ जना चालकलाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार चार जना लागुऔषध सेवन गरी र पाँच जना मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ परेका हुन्।
पक्राउ परेकामध्ये दुई जना सार्वजनिक भाडाका सवारीका चालक, दुई जना विद्यालय बस चालक र एक जना माइक्रोबस चालक मादक पदार्थ सेवन गरी सवारी चलाइरहेका थिए। त्यस्तै, चार जना भाडाका बस चालक लागुऔषध सेवन गरी सवारी चलाउँदै गरेको अवस्थामा फेला परेका हुन्।
नियन्त्रणमा परेका सबै चालकलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले चालकहरूमा मादक पदार्थ र लागुऔषध सेवन नियन्त्रणका लागि नियमित अनुगमन र विशेष चेकिङ अभियानलाई थप सुदृढ बनाइएको जनाएको छ।

























