स्थिर सरकारको पक्षमा शर्माको मेची–महाकाली पदयात्रा
Sunday Mar 15, 2026
वि.सं.२०८२ चैत १ आइतवार २०:२४
काठमाडौं । लेखक तथा स्वतन्त्र अभियन्ता विजयकुमार शर्माले स्थिर सरकारको आवश्यकता विषयलाई केन्द्रमा राख्दै मेचीदेखि महाकालीसम्मको राष्ट्रिय पदयात्रा सम्पन्न गरेका छन्।
आइतबार (आज) राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपालको वर्तमान राजनीतिक अवस्था इतिहासको महत्वपूर्ण मोडको रूपमा उभिएको चर्चा गर्दै नेपाली जनताले लामो समयदेखि अस्थिरताको पीडा भोग्दै आएको बताएका छन्। उनका अनुसार अब मुलुकले स्थिर शासनमार्फत विकास र समृद्धिको दिशामा अघि बढ्नुपर्ने समय आएको छ।
शर्माले करिब दुई तिहाइ बहुमतसहितको शक्तिशाली सरकार निर्माण भएको वर्तमान परिस्थितिमा देशले स्थिर शासनको अनुभूति गर्न सक्ने अपेक्षा व्यक्त गरेका छन्। उनले आफ्नो पदयात्रा विजय उत्सवका रूपमा नभई जनताको आवाजलाई सम्मान गर्दै राज्यलाई जिम्मेवारीको स्मरण गराउने प्रयासका रूपमा गरेको बताएका छन्।
‘हिजो हामीले ‘किन सरकार अस्थिर भयो’ भन्ने प्रश्न उठाएका थियौँ, अब भने ‘यो स्थिरतालाई कसरी समृद्धिको मार्गमा लैजाने’ भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने समय आएको छ ।’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
उनले राजनीतिक स्थिरतालाई केवल अंकगणितीय बहुमतको विषय नभई जनताको दैनिक जीवनसँग जोडिएको विषयका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार स्थिर शासनले जनताको आधारभूत आवश्यकता पूरा गर्न, रोजगारी सिर्जना गर्न र विकासका अवसर गाउँसम्म पुर्याउन सक्षम हुनुपर्छ।
शर्माले युवाहरूको श्रम विदेशमा खर्चिनु पर्ने अवस्थाको अन्त्य गर्दै देशभित्रै उद्यम र अवसर सिर्जना गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्।
उनले आफ्नो पदयात्रा कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा लक्षित नभई लोकतन्त्रको सुदृढीकरण र नागरिक सहभागिताको सन्देश फैलाउने उद्देश्यले गरिएको बताएका छन्। शर्माले आम नागरिक र सञ्चारमाध्यमलाई देशको समृद्धिका लागि यस्ता स्वतन्त्र पहललाई सहयोग र साथ दिन आग्रह गरेका छन्।
शर्मा एक दशक माओवादी जनयुद्धमा लडेका र जनयुद्धका घाइते पनि हुन् । उनले पशुपालन व्यवसायलाई अंगाल्दै देशको विकासमा केही योगदान दिने पनि औल्याएका छन् ।




























